
काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीबारे कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ।
हालै केही सञ्चारमाध्यममा ‘आइजीपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न दबाब परे राजीनामा दिने चेतावनी दिएका छन्’ भन्ने समाचार प्रकाशित भएपछि शुक्रबार नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै त्यसप्रति आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “आइजीपी खापुङले प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका बैठकहरूमा शान्ति–सुरक्षा र समसामयिक चुनौतीहरूको विश्लेषणमा मात्र छलफल भएको हो।”
प्रहरीले भ्रामक समाचारले संस्थाको छवि प्रभावित पार्ने भन्दै सावधानी अपनाउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार