२०८२ मङ्सिर २ गते सोमवार | 2025 November 17th Monday

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भयो इतिहासकै ठूलो स`जाय

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका गम्भीर अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ । ढाकास्थित अदालतले गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा ठूलो मात्रामा हत्या, दमन र षड्यन्त्रमा संलग्न भएको नतिजा भन्दै फैसला सुनाएको हो।

अभियोजन पक्षले जुन महिनामा शेख हसिना, तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाल र प्रहरी प्रमुख अल ममूनसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले हसिना र खान कमाललाई मृत्युदण्ड र सरकारी साक्षी बनेका ममूनलाई ५ वर्ष कैद सजाय सुनायो।

भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै मुद्दा चलाइएको थियो । अदालतले उनीहरूको निर्देशन र उक्साहटमा १४०० जनाको हत्या, २५ हजार घाइते, साथै निहत्था विद्यार्थी र आम नागरिकमाथि व्यापक दमन भएको प्रमाणित भएको बताएको छ।

उनहरूविरुद्ध ७४७ पृष्ठको दस्तावेज र ४५३ पृष्ठको फैसलाको आधारमा ढाकामा प्रत्यक्ष प्रसारणमै फैसला सुनाइयो। हसिनासहित तीन जनामाथि विद्यार्थीहरूलाई ‘रजाकारका नाती’ भनेर उक्साएको, रंगपुर र ढाकामा भएका सामूहिक हत्यामा संलग्न भएको र केही व्यक्तिलाई गोली हानेर जलाएको आरोपसमेत समावेश छ।

अगस्ट ५, २०२४ मा आन्दोलन चर्किएपछि हसिना देश छाडेर भागेकी थिइन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस