डा. विभूषित महत
पिसाब केवल शरीरको फोहोर पदार्थ निकाल्ने माध्यम मात्र होइन, यो स्वास्थ्यको संकेतक पनि हो । चिकित्सकहरूका अनुसार पिसाब गर्न कुनै समस्या छैन र दिनमा ६–७ पटक पिसाब लाग्छ भने शरीर सामान्य अवस्थामा रहेको बुझिन्छ । तर, सामान्यभन्दा बढी पटक पिसाब लागिरहनु स्वास्थ्यमा समस्या भएको संकेत हुन सक्छ ।
बारम्बार पिसाब लाग्ने कारणहरू
धेरै तरल पदार्थ सेवन गर्दा वा क्याफिनयुक्त पेयपदार्थ पिउँदा बारम्बार पिसाब लाग्न सक्छ । गर्भावस्थामा पनि पाठेघरको दबाबका कारण यस्तो समस्या देखिन्छ । तर, कारणबिना लगातार पिसाब लागिरहनु ओभरएक्टिभ ब्ल्याडर (OAB) को लक्षण हुन सक्छ, जसमा ब्ल्याडरको स्नायु अत्यधिक संवेदनशील भएर पिसाब गर्न तीव्र इच्छा पैदा हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।
गम्भीर समस्या हुन सक्ने अवस्था
यदि दैनिकजसो पिसाब बारम्बार आउँछ र पिसाब गर्दा पेट दुख्ने, पोल्ने वा असहजता महसुस हुन्छ भने यो निम्न रोगहरूको संकेत हुन सक्छः
-
युरिनरी ट्रयाक्ट इन्फेक्सन (UTI): मूत्रनलीमा ब्याक्टेरिया संक्रमण हुँदा यस्तो समस्या हुन्छ । महिलामा यो समस्या बढी देखिन्छ ।
-
प्रोस्टेट ग्रन्थि बढ्नु: पुरुषहरूमा उमेर बढेसँगै प्रोस्टेट ग्रन्थि फुल्दा पिसाबको प्रवाह अवरुद्ध हुन्छ र बारम्बार पिसाब लाग्ने समस्या देखिन्छ ।
-
मिर्गौलाको पत्थरी: शरीरमा कम पानी पिउँदा पिसाब बाक्लो भई पत्थरी बन्ने सम्भावना बढ्छ । पत्थरीले पिसाबको मार्ग रोकेर समस्या निम्त्याउँछ ।
-
मधुमेह (डायबिटिज): रगतमा चिनीको मात्रा बढ्दा मिर्गौलाले पूर्ण रूपमा अवशोषण गर्न सक्दैन र अतिरिक्त चिनी पिसाबमार्फत बाहिर निस्कँदा बारम्बार पिसाब लाग्ने समस्या हुन्छ ।
-
मानसिक समस्या: तनाव र चिन्ताले शरीरमा पिसाब कम गराउने हार्मोनको स्राव घटाउँछ, जसले बारम्बार पिसाब लाग्ने समस्या उत्पन्न गर्न सक्छ ।
कति पटक पिसाब लाग्नु सामान्य ?
सामान्यतया दिनमा सातदेखि आठ पटकसम्म पिसाब लाग्नु सामान्य मानिन्छ । तर, राति पटक–पटक पिसाब लागेर निन्द्रा बिथोलिन्छ भने त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । चिकित्सकहरूका अनुसार राति एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो, तर त्यसभन्दा बढी बारम्बार उठ्नुपर्छ भने परीक्षण आवश्यक हुन्छ ।
परीक्षण र उपचार
पहिलो चरणमा मूत्र परीक्षणबाट समस्या पहिचान गरिन्छ । आवश्यक परे अल्ट्रासाउण्ड वा अन्य जाँच गरिन्छ ।
-
मिर्गौलाको सानो पत्थरी जीवनशैली सुधार र पानीको मात्रा बढाएर निको पार्न सकिन्छ, तर ठूलो पत्थरीमा शल्यक्रिया आवश्यक पर्छ ।
-
UTI का लागि सरसफाइमा ध्यान दिनु र पर्याप्त पानी पिउनु उपयोगी हुन्छ ।
-
मधुमेहका बिरामीले औषधि र आहार नियन्त्रणमा राख्नुपर्छ ।
-
मानसिक कारण भएमा जीवनशैली परिवर्तन र चिकित्सकीय सल्लाहद्वारा समस्या कम गर्न सकिन्छ ।
डा. विभूषित महत युरोलोजिस्ट हुन् र विभिन्न अस्पतालमा उपलब्ध छन् ।

