२०८२ पुष २६ गते शनिवार | 2026 January 10th Saturday

काठमाडौंका मुल सडकमा ‘जाने हो’ भन्दै रात बिताउनेहरुको कथा : सरकारसँग माग ‘रेड लाइट एरिया’

काठमाडौं । शहर निदाउँछ, तर सडक किनारमा अझै कसैको आँखाबाट निद्रा हराएको हुन्छ। ती हुन् सौरभी कायस्थजस्ता यौनकर्मी, जसले अँध्यारोमा बाँच्न बाध्य छन्। उनीहरूको कथा केवल पेशाको होइन, समाजको तिरस्कार, विवशता र असुरक्षाको कथा हो।

२५ वर्षीया ट्रान्सजेन्डर महिला सौरभीलाई ‘जीवनको विकल्प’ नभएर ‘बाध्यता’ले यौन पेशामा ल्याएको हो। जन्मिँदा सौरभ नामका केटा थिइन्, तर समयसँगै उनी आफ्नो मन र शरीरबीचको विरोधाभाससँग संघर्ष गर्न बाध्य भइन्। परिवार र समाजले अस्वीकार गरेपछि उनी काठमाडौं आइन् र अन्ततः रातको अँध्यारोमै रोजगारी खोज्न विवश भइन्।

“हामीलाई समाजले कहिल्यै स्वीकृति दिएन, जागिरको अवसर त अझै टाढाको कुरा हो,” उनी भन्छिन्। “ग्राहकबाट अत्याचार, प्रहरीको अपमान र समाजको तिरस्कार—हामी हरेक रात यिनै जोखिममा बाँचिरहेका छौं।”

सौरभी मात्र होइन, काठमाडौं उपत्यकामा करिब ३ हजार ट्रान्सजेन्डर व्यक्तिहरू यौन पेशामा संलग्न रहेको ‘ब्लु डायमण्ड सोसाइटी’को अनुमान छ। नेशनल लाइब्रेरी अफ मेडिसिनको एक अध्ययनअनुसार ६८.४२ प्रतिशत ट्रान्सजेन्डर महिलाहरू आर्थिक बाध्यता र सामाजिक बहिष्कारका कारण यो पेशामा धकेलिएका छन्।

यौनकर्मी र ट्रान्सजेन्डर समुदायको अर्को माग सरकारले ‘रेडलाइट एरिया’ तोकी कानुनी रूपमा मान्यता दिनुपर्ने रहेको छ। उनीहरूको भनाइमा यसले पेशामा संलग्न व्यक्तिहरूको सुरक्षासँगै स्वास्थ्य, मर्यादा र कर प्रणालीमा समेत पारदर्शिता ल्याउनेछ।

“हामी अपराधी होइनौं, नागरिक हौं,” सौरभी भन्छिन्, “सरकारले हामीलाई व्यवस्थित ठाउँमा काम गर्ने अधिकार देओस्, ताकि डर र अपमानबीच होइन, सम्मानका साथ बाँच्न सकियोस्।”

सौरभीजस्ता यौनकर्मीहरूले सरकारले सुरक्षाको वातावरण, पुनःस्थापना कार्यक्रम र वैकल्पिक रोजगारीका अवसर सुनिश्चित गर्न माग गरेका छन्। “अँध्यारोमा होइन, उज्यालोमा बाँच्ने अधिकार चाहिएको हो,” उनी थप्छिन्।

सडकको त्यो किनारमा उभिएकी सौरभी समाजको दृष्टिमा ‘वर्जित’ पात्र हुन्, तर राज्यका नीतिमा उनीहरू अझै अदृश्य। उनीहरूको पीडा बुझ्ने र आवाज सुन्ने कोही छैन।
तर, सौरभी अझै आशावादी छिन्—कुनै दिन समाजले आफ्नो पहिचान र अस्तित्वलाई स्वीकार्नेछ।

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस