२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव शुरु

काठमाडौँ । मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव बिहीवारबाट शुरु भएको छ । महोत्सवको पहिलो दिन जनकपुरधाम क्षेत्रमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको चहलपहल देखिएको थियो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि सम्पन्न भएको छ । भगवान् राम र लक्ष्मणले पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गर्ने गरिन्छ। नगरदर्शनलाई लिएर जानकी मन्दिरमा पूजा अराधनाका लागि श्रद्धालु भक्तजनहरू पुगेका थिए ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रूपमा रहेका दुई बालकलाई नगरदर्शन गराइएको थियो। सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो। नगर दर्शन विधिका लागि जनकपुरधाम स्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो। सो बजारमा मुरही, कचरी, चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली आदिका पसलहरू कृत्रिम रूपमा निर्माण गरिएका थिए। राम लक्ष्मणको प्रतिकको रूपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस