काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बुधबार विशेष अदालत काठमाडौँले उनीसहित चार जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।
उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा गत असार १९ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढासहित मुद्दा दायर गरिएको थियो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै नन्दसिंह र संगीतालाई दोषी ठहर गरेको हो। उनीहरूलाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिनाको कैद सजाय तोकिएको छ।
पछिल्लो समय नन्दसिंह डोल्पाबाट नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि पनि बनेका थिए।

