काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नापार्कमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने तयारी पूरा गरेको छ। शंखधर उद्यानका रूपमा समेत चिनिने रत्नापार्कलाई व्यवस्थित बनाइएपछि अब यहाँ घाम ताप्न आउने सर्वसाधारणले निशुल्क इन्टरनेट चलाउन सक्नेछन्।
महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटरमार्फत ५०० एमबिपिएस क्षमताको निःशुल्क इन्टरनेट जडान गर्दैछ। यससँगै मङ्सिरभित्रै पार्कभर सेवा उपलब्ध हुने शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठले बताएका छन्।
सिन्धुपाल्चोक रत्नापार्क एक समय अस्तव्यस्त फुटपाथको रूपमा परिचित थियो। २०७२/७३ मा करिब ८० लाख रुपैयाँ खर्चेर पुनःनिर्माण भएपछि रत्नापार्कको स्वरूपै बदलिएको छ। अहिले यहाँ घाम ताप्न आउने वृद्धवृद्धादेखि फोटो खिच्न आउने युवायुवतीसम्म दैनिक ५०० देखि १,००० जना भित्रिने गरेका छन्।
रत्नापार्क प्रवेश शुल्क विद्यार्थीका लागि २० रुपैयाँ, सर्वसाधारणका लागि ३० रुपैयाँ र सार्क तथा विदेशी पर्यटकका लागि १०० रुपैयाँ तोकिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई भने निःशुल्क प्रवेश छ।
क्यामरा, भिडियो तथा सुटिङका लागि छुट्टा शुल्क लागू हुन्छ। रत्नापार्कले वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्म राजस्व आर्जन गर्दै आएको छ। चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म मात्र १८ लाखभन्दा बढी राजस्व संकलन भएको उद्यान प्रमुख उत्तमकुमार घले बताउँछन्।
हाल पार्कभित्र शंखधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेन लगायत संरचनासहित बस्नका लागि सेटबक्स, कुर्सी, सार्वजनिक शौचालयसमेत व्यवस्था गरिएको छ। पानीको अभावका कारण बोटविरुवा जोगाउन चुनौती रहेको बताउँदै उद्यानले चाँडै नै फोहोराको सुविधा सञ्चालन गर्ने तयारीसमेत गरेको छ।

