२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपाली उपभोक्तालाई असर नपर्ने संकेत

प्रकाश काफ्ले / काठमाडौं । डोनाल्ड ट्रम्प ले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। तर, विश्व बजारमा आएको यो राहत नेपाली उपभोक्तासम्म भने तत्काल पुग्ने सम्भावना कम देखिएको छ। युद्धविरामसँगै बन्दजस्तै रहेको स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा आउने अपेक्षाले अमेरिकी कच्चा तेलको मूल्य करिब १५ प्रतिशतले घटेर प्रति ब्यारेल ९६.३१ डलरमा झरेको छ। त्यस्तै ब्रेन्ट क्रुड पनि १३ प्रतिशतले घट्दै ९५.३६ डलरमा पुगेको छ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो भए पनि नेपालमा त्यसको प्रत्यक्ष प्रभाव नपर्ने संकेत नेपाल आयल निगम ले दिएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार कच्चा तेल र नेपालले खरिद गर्ने प्रशोधित तेलबीच ठूलो मूल्य अन्तर भएकाले तत्काल मूल्य घटाउन कठिन छ।उनका अनुसार अहिले कच्चा तेलको मूल्य १०० डलर आसपास हुँदा पनि डिजेलजस्ता प्रशोधित तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३०० डलरसम्म पुगेको छ। सामान्य अवस्थामा यो अन्तर २०–२५ डलर मात्र हुने भए पनि अहिले २००–२५० डलरसम्म पुगेको छ, जसले गर्दा कच्चा तेल सस्तो हुँदैमा खरिद मूल्य घट्दैन। त्यसैगरी, सरकारले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिए पनि निगम अझै ठूलो घाटामा रहेको छ। हाल पेट्रोलमा प्रतिलिटर करिब ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँ घाटा रहेको जनाइएको छ।

सरकारी कर छुटले पेट्रोलमा करिब १७.५ रुपैयाँ र डिजेलमा ११ रुपैयाँसम्म राहत दिए पनि निगमको समग्र घाटा कम गर्न पर्याप्त नभएको प्रवक्ता ठाकुरको भनाइ छ। उनका अनुसार कर छुटबाट १५ दिनमा करिब डेढ अर्ब रुपैयाँ मात्र बचत हुने भए पनि सोही अवधिमा निगमको घाटा ११ अर्ब ७१ करोड रुपैयाँ पुग्ने गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस