काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् ।
यस छनोटबाट कुल चार राष्ट्रले आगामी जुनदेखि इङ्गल्याण्ड र वेल्समा संयुक्त रूपमा हुने विश्वकपमा स्थान बनाउनेछन् । छनोट प्रतियोगिता सुरु हुनुअघि शनिबार कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू वर्माले घरेलु मैदानमा हुने विश्वकप छनोटका लागि आफ्नो टोली तयारी रहेको बताएकी छिन् ।
इन्दूले यो क्षणका लागि १८ वर्षदेखि नेपालले मेहनत गरेको उल्लेख गर्दै प्रतियोगिता जतिसक्दो उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छिन् । उनले सबै खेलाडी यो प्रतियोगिताका लागि तयार र उत्साहित रहेको पनि बताइन् ।
विश्व क्रिकेटका ठूलो राष्ट्रसँग खेल्न पाउँदा खुसी रहेको उनले उल्लेख गरेकी छन् । कप्तान इन्दूले स्कटल्यान्ड र आयरल्यान्डसँगको खेलबाट ठूलो टिमसँग खेल्दा कसरी खेल आफ्नो पक्षमा पार्ने लगायत सिक्न पाएको पनि बताइन् । आगामी छनोट खेलमा त्यसको प्रभाव आउने उनको विश्वास छ । प्रशिक्षण राम्रो रहेको र खेलाडीहरूमा पनि आत्मविश्वास बढिरहेको उनी बताउँछिन् ।

