काठमाडौं । भ्रष्टाचारविरोधी छविका कारण चर्चामा आएका धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त र नजिकका कार्यकर्तालाई गैरकानुनी रूपमा नियुक्ति दिएको खुलासा भएको छ।
मेयर पदमा रहँदा साम्पाङले कानुनी प्रक्रिया र सार्वजनिक विज्ञापन नगरी ठाडो आदेशमा कर्मचारी नियुक्ति गरेको पाइएको हो। बोर्डका निर्देशक राजु पोखरेलका अनुसार २०७९ चैत १ देखि २०८२ साउन ७ गतेसम्म २२ कर्मचारी नियुक्त गरिएका थिए, जसमा अधिकांश साम्पाङका आफन्त र स्पष्ट रूपमा चिनिएका कार्यकर्ता रहेको आरोप छ।
उनीहरूलाई कार्यालय सहयोगी, चौकीदार, माली, प्लम्बर, सुपरभाइजर र कम्प्युटर अपरेटरलगायत पदमा नियुक्त गरिएको थियो। तीमध्ये दुई जनाले खरिदार स्केल र अन्य २० जनाले कार्यालय सहयोगी स्केलमा तलब बुझ्दै आएका छन्। यसबाट बोर्डलाई मासिक करिब पाँच लाख ५९ हजार रुपैयाँ आर्थिक भार परेको स्रोतले जनाएको छ।

पारदर्शिता र सुशासनको कुरा गर्दै आएका साम्पाङमाथि आफन्तवाद र शक्ति दुरुपयोगको गम्भीर प्रश्न उठेको छ। हाल उनी धरानको मेयर पदबाट राजीनामा दिएर सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका छन्।
यसबीच खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा कार्यबाहक मेयर अईन्द्रबिक्रम बेघाले नियम विपरीत नियुक्ति पुष्टि भए खारेज गरिने र सुशासन कायम गरिने बताएका छन्।

