काठमाडौं । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट काठमाडौँ जान लागेकी हुम्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेकी छन्। उनी यति एयरलायन्सको उडान नम्बर ९२६ मार्फत काठमाडौँ उड्न लागेकी थिइन्।
सोमबार अपराह्न ५ः३५ बजेतिर सुरक्षा जाँचका क्रममा सुरुवालको दुवै गोजीमा लुकाएर राखिएको १४४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा वेटरका रूपमा काम गर्दै आएकी थिइन्।
हाल बुढालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनको बयानका आधारमा लागूऔषध कारोबारमा संलग्न सिन्धुपाल्चोकका सन्तोष बञ्जारा र रामेछापका थोर्मस तामाङलाई काठमाडौँमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ माघ २१ गते मङ्गलवार

