२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा आयो आदेश

Rabi Lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ । सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो । यसमाथि सुनुवाइ गर्दै यस सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट निर्णय भएपछि मात्रै निर्णय हुने जिल्ला अदालतले आदेश गरेको हो।

मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध युवराज पौडेल (युवराज सफल) ले माघ २ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता भण्डारीले मुद्दा दर्तापछि थप प्रमाण भेटिएकोले फिर्ता लिने निर्णय गरिएको उल्लेख गरेकी थिइन् । यसमा सर्वोच्चले पनि थप प्रमाण पेस गर्न आदेश दिएको थियो । उक्त आदेशअनुसार प्रमाण पेस भएपछि सर्वोच्चमा सुनुवाइ हुनेछ । लामिछानेविरुद्ध काठमाडौं, कास्की, चितवन, रुपन्देहीलगायत जिल्लामा मुद्दा छन् ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस