२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

निर्वाचनको पूर्वसन्ध्यामा राजेश हमालको सन्देश : सचेत निर्णयमार्फत भविष्य निर्धारण गरौँ

प्रकाश काफ्ले काठमाडौं ।प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अभिनेताराजेश हमाल ले नागरिकहरूलाई विचारपूर्वक मतदान गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले देशको वर्तमान राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राख्दै जिम्मेवार निर्णय लिनुपर्ने बताएका छन्।

हमालले नेपालजस्तो सानो र भूराजनीतिक रूपमा संवेदनशील राष्ट्रका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक रहेको उल्लेख गरे। विश्व परिवेश दिनप्रतिदिन अस्थिर बन्दै गएको सन्दर्भ उठाउँदै उनले हालै शक्तिशाली मुलुकहरूले गरेको सैन्य गतिविधिले अन्तर्राष्ट्रिय सन्तुलन कमजोर बनाएको संकेत गरे। यस्तो अवस्थामा नेपालले आन्तरिक रूपमा बलियो राजनीतिक आधार तयार गर्न नसके जोखिम बढ्न सक्ने उनको भनाइ थियो।

उनले भदौ २३ र २४ मा घटेका घटनाहरूलाई पनि स्मरण गर्दै ती घटनाबारे स्पष्ट जवाफदेहिता नदेखिएको प्रति चिन्ता व्यक्त गरे। ती घटनाको पृष्ठभूमिमा देश निर्वाचनतर्फ अघि बढिरहेकाले जनताले अझ सजग भएर निर्णय गर्नुपर्ने उनले बताए।

हमालका अनुसार यसपटकको चुनाव मतदाताका लागि सजिलो छैन। लामो समयदेखि सक्रिय राजनीतिक दलहरूप्रति जनविश्वास कमजोर बनेको अवस्था एकातिर छ भने नयाँ राजनीतिक शक्तिहरू अनुभव र नीतिगत स्पष्टताका हिसाबले परीक्षणकै चरणमा रहेको अवस्था अर्कोतर्फ छ। यस्तो द्विविधाबीच मतदाताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनले धारणा राखे।

उनले आफ्नो मतमार्फत नागरिकहरूले कसलाई जिम्मेवारी सुम्पिरहेका छन् भन्ने प्रश्नलाई गम्भीर रूपमा लिन आग्रह गरे। अन्तर्राष्ट्रिय अस्थिरता बढिरहेका बेला मुलुकलाई सुरक्षित र सुदृढ मार्गमा अघि बढाउन सक्षम नेतृत्व आवश्यक हुने उनको जोड थियो।

राजनीतिमा सहकार्यभन्दा प्रतिस्पर्धा र शक्ति संघर्ष हाबी हुँदै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे। नियम र सहमतिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली कमजोर हुँदै गएको अवस्थामा नेपालले आन्तरिक एकता कायम राख्न नसके समस्या गहिरिन सक्ने उनले संकेत गरे।

अन्त्यमा, उनले कुनै प्रकारको दबाब वा प्रभावमा नपरी विवेक र संयमताका साथ मतदान गर्न सबै मतदातालाई आह्वान गरे। देशले सही दिशा समातोस् भन्ने कामनासहित उनले जिम्मेवार सहभागिताबाटै लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरेका छन्

प्रकाशित मिति : २०८२ फाल्गुन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस