२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

विनोद चौधरीको सम्पत्ति २ अर्ब १० करोड डलर पुग्यो

प्रकाश काफ्ले/काठमाडौं । नेपालको एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वका १,९८२औं धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको पछिल्लो विश्व अर्बपतिको सूची अनुसार उनका कुल सम्पत्ति २ अर्ब १० करोड डलर (करिब ३ खर्ब २ अर्ब रुपैयाँ) पुगेको छ।

सन् २०२५ मा चौधरी १,७६३औं स्थानमा थिए र उनको सम्पत्ति करिब २ अर्ब डलर रहेको फोर्ब्सले जनाएको थियो। गत एक वर्षमा उनका सम्पत्तिमा करिब १० करोड डलरको वृद्धि भएको छ।

चौधरी नेपालबाट एक मात्र अर्बपति हुन् र दक्षिण एसियामा भारत बाहेक अन्य कुनै देशका व्यक्ति अर्बपतिको सूचीमा छैनन्। फोर्ब्सका अनुसार, अहिले सार्क क्षेत्रका अन्य देशका कुनै व्यक्ति विश्व अर्बपतिको सूचीमा छैनन्।

सन् २०१९ मा चौधरीको स्थान १,३४९औं थियो। तर कोभिड-१९ महामारीका कारण उनको सम्पत्ति केही घटेको थियो, जुन पछि उनले फेरि सुधार्न सफल भएका छन्।

यसैबीच, विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क हुन्, जसको सम्पत्ति मुख्यतः अटोमोबाइल र प्रविधि क्षेत्रमा आधारित छ। दोस्रो स्थानमा ल्यारी पेज रहेका छन्।

फोर्ब्सका अनुसार विश्वका अधिकांश अर्बपति अमेरिका, चीन र भारत जस्ता देशका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस