२०८२ चैत्र १३ गते शुक्रवार | 2026 March 27th Friday

एम्बुलेन्समार्फत तस्करी र लागुपदार्थसहित ५ जना नियन्त्रणमा

प्रकाश काफ्ले/काठमाडौं । रसुवामा स्वास्थ्य सेवाका लागि प्रयोग गरिने एम्बुलेन्सको दुरुपयोग गरी अवैध सामान ओसारपसार गर्ने चार जना र लागुपदार्थसहित एक गरी जम्मा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आमा छोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ स्वास्थ्य चौकीको बा २ झ ५८२५ नम्बरको एम्बुलेन्समा बिरामी बोकेको बहाना पारी चीनबाट अवैध रूपमा ल्याइएको चुरोट काठमाडौँतर्फ लैजाँदै गर्दा बेत्रावति सुरक्षा चौकीले फेला पारेको हो।

प्रहरीले खानतलासीका क्रममा एम्बुलेन्सबाट ३ हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरेको छ। पक्राउ पर्नेहरूमा चालक दावानुर्पु तामाङसहित मार्कुस तामाङ, सुशील तामाङ र सुनिता तामाङ रहेका छन्।

यसैगरी, रसुवागढी नाकाबाट नेपालतर्फ आउँदै गरेका २४ वर्षीय विकास तामाङलाई पनि लागुपदार्थसहित पक्राउ गरिएको छ। केरुङबाट आउँदै गर्दा सुरक्षाकर्मीको संयुक्त टोलीले उनको साथबाट चरेश र अन्य शंकास्पद क्याप्सुलहरू बरामद गरेको हो। प्रहरीले दुवै घटनाका अभियुक्तहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस