प्रकाश काफ्ले/काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वैज्ञानिक तथा पूर्वमन्त्री महावीर पुनलाई पोखराका सडकमा उभिएर पुस्तक बिक्री नगर्न आग्रह गरेका छन्। पुनले बुधबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै पोखराका विभिन्न स्थानमा पुस्तक बिक्री गर्ने कार्यक्रम रहेको जानकारी दिएका थिए र इच्छुकलाई सहभागी हुन आह्वान गरेका थिए।
पुनका अनुसार बिहान १० बजे चिप्लेढुंगा, दिउँसो १ बजे सभागृह चोक र साँझ ४ बजेपछि विरौटा चोकमा पुस्तक बिक्री गर्ने योजना बनाइएको थियो। उक्त सूचनापछि मेयर आचार्यले फेसबुकमार्फत प्रतिक्रिया दिँदै सडकमा पुस्तक बिक्री नगर्न अनुरोध गरेका हुन्।
मेयर आचार्यले महावीर पुनले सञ्चालन गरिरहेको अभियान प्रशंसनीय रहेको र त्यसलाई सहयोग गर्ने भावनाले धेरैले पुस्तक खरिद गरिरहेको उल्लेख गरे। तर, दर्ता वा आवश्यक अनुमति बिना सार्वजनिक स्थानमा कुनै पनि वस्तुको बिक्री–वितरण गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने उनले बताए।
उनका अनुसार पछिल्ला दिनहरूमा सडक किनारमा पुस्तक बिक्री गर्दा यातायात व्यवस्थापनमा समस्या देखिएको र अनावश्यक विवादसमेत भएको जानकारी आएको छ, जुन पुनजस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था नभएको उनले बताएका छन्।
मेयर आचार्यले महावीर पुन देशले सम्मान गरेको व्यक्तित्व भएको स्मरण गराउँदै पुस्तक बिक्रीका लागि वैकल्पिक व्यवस्था अपनाउन सुझाव दिएका छन्। उनले पुस्तक व्यवसायी महासंघमार्फत पुस्तक बिक्री–वितरण गर्न महानगरले सहजीकरण गर्न सक्ने पनि बताएका छन्।
साथै, फुटपाथमा व्यवसाय गर्ने साना व्यापारीलाई नगर प्रहरीले नियमअनुसार हटाउनुपर्दा जस्तै नियम सबैमा समान रूपमा लागू हुने भएकाले अनावश्यक विवाद नबढाउन सडकमा पुस्तक बिक्री नगर्न उनले आग्रह गरेका छन्। यदि पुनले आफ्नो पुस्तकको स्टक उपलब्ध गराएमा महासंघमार्फत बिक्री गरेर त्यसको भुक्तानी उपलब्ध गराउन महानगरले सहयोग गर्न सक्ने उनको भनाइ छ।

