प्रकाश काफ्ले/काठमाडौँ ।सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था लागू गरेको छ। मन्त्रिपरिषद्ले जारी गरेको “पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२” शुक्रबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै यो नीति औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। यस व्यवस्थाको मुख्य उद्देश्य स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्नु, रोजगारीका अवसर बढाउनु, कृषि तथा जैविक स्रोतको प्रभावकारी उपयोग गर्नु र ऊर्जा क्षेत्रमा आयातमा हुने निर्भरता घटाउनु रहेको सरकारले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार नेपाल आयल निगम ले उपलब्धताका आधारमा प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउन सक्नेछ। आवश्यक परे मन्त्रिपरिषद्ले यो प्रतिशत घटाउन वा बढाउन सक्ने व्यवस्था पनि गरिएको छ। इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चा पदार्थमा मोलासेस, नेपियर घाँस, कृषि तथा वनबाट निस्कने जैविक फोहोर, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल (कसाभा), सडेगलेको अन्न, मर्चा (यिस्ट) लगायत अन्य आवश्यक रसायन समावेश छन्। तर खाद्यान्नको दुरुपयोग रोक्नका लागि मानिसले खाने अन्नलाई इथानोल उत्पादनमा प्रयोग गर्न पाइने छैन।
उद्योगहरूले तोकिएको कच्चा पदार्थबाट मात्र इथानोल उत्पादन गर्नुपर्नेछ र उत्पादित इथानोल नेपाल आयल निगम लाई मात्रै बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले इथानोलको प्रयोग पेट्रोलमा मिश्रणसम्म सीमित राख्ने सरकारको उद्देश्यलाई स्पष्ट पार्छ।
उद्योगहरूले उत्पादन प्रक्रियामा वातावरणमैत्री प्रविधि अपनाउनुका साथै गुणस्तर मापदण्ड पालना गर्नुपर्नेछ। उत्पादन भएको इथानोलको गुणस्तर परीक्षण उद्योगले आफ्नै प्रयोगशालाबाट गर्नुपर्नेछ भने निगमले पनि प्रत्येक ट्याङ्कर खरिद गर्नुअघि अनिवार्य रूपमा परीक्षण गर्नेछ।
इथानोलको मूल्य निर्धारण सरकारले बनाएको सिफारिस समितिको सुझावका आधारमा प्रत्येक आर्थिक वर्ष सुरु हुनु अघि तय गरिनेछ। यदि नयाँ मूल्य निर्धारण नभएमा अघिल्लो वर्षको मूल्य नै कायम रहनेछ। तय गरिएको मूल्य प्रत्येक वर्ष साउन १ गतेदेखि लागू हुनेछ।
इथानोल खरिदका लागि नेपाल आयल निगमले उद्योगहरूसँग सम्झौता गर्नेछ। सम्झौताअनुसार उद्योगले आवश्यक परिमाण तोकिएको स्थान र समयमा उपलब्ध गराउनुपर्नेछ। सम्झौता उल्लङ्घन भएमा कानुनअनुसार क्षतिपूर्ति माग गर्न सकिने प्रावधान पनि राखिएको छ।
इथानोल ढुवानीको जिम्मेवारी उद्योगहरूकै हुनेछ। अत्यन्त ज्वलनशील र पानी सजिलै सोस्ने गुण भएकाले यसको ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्नेछ। सुरक्षित भण्डारण, मिश्रण तथा ढुवानीसम्बन्धी विस्तृत मापदण्ड सम्बन्धित मन्त्रालयले तयार गरी लागू गर्नेछ।

