२३ वैशाख, जनकपुरधाम । वैशाख २० गते दिउँसो ३ बजे सर्लाहीको विष्णु गाउँपालिका–१ बाराद्धोरण टोलका सत्रुधन यादवको घरमा अचानक आगो लाग्यो । आगलागीले घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा आगोका झिल्का विपन्न बस्तीतिर सल्कियो । बस्तीका अन्य घरमा रहेको ग्यास सिलिन्डर पनि क्रमशः विस्फोट हुँदै जाँदा बस्ती आगोको चपेटामा पर्न केही बेर लागेन । सर्लाहीका डिएसपी दीपक श्रेष्ठका अनुसार ६ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ४ घण्टापछि मात्र आगो नियन्त्रणमा आयो ।
यद्यपि, त्यतिबेलासम्म आगोले बस्तीका ७५ वटा घर खरानी बनाइसकेको थियो । ‘दिउँसो ३ बजे लागेको आगो धेरै प्रयास पश्चात साँझ सवा ७ बजे मात्र नियन्त्रणमा आयो । ७५ वटा घर जलेर नष्ट भयो’, डीएसपी श्रेष्ठले भने । विष्णु गाउँपालिका अध्यक्ष जवाहर यादवका अनुसार बाराद्धोरण टोल अधिकांश पटेल परिवारको विपन्न बस्ती थियो । गाउँपालिकाले केही समय पहिले बस्तीको घरघरमा ग्यास सिलिन्डर र चुल्हो बाँडेको थियो ।
पालिकाले बाँडेका तिनै सिलिन्डर आगलागीको प्रमुख कारण बन्न पुग्यो । आगलागीमा ग्यास सिलिन्डर क्रमशः विस्फोट हुँदा समयमै आगो नियन्त्रण गर्न नसकेर ठूलो क्षति भएको उनको भनाइ छ । गत वैशाख १८ गते साँझ ५ बजे सप्तरीको महदेवा गाउँपालिका–१ चिमटी बस्तीमा नथुनी यादवको गोठमा चुल्होमा भैंसीको लागि खोल पकाउँदै गर्दा आगो सल्कियो । त्यसपछि छेउछाउका अन्य घरगोठ पनि आगोको चपेटामा परे ।
प्रायः फुसको घर हुँदा आगलागी समयमा नियन्त्रण हुन सकेन । सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यका अनुसार ६ वटा दमकल, एकसय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो झण्डै ५ घण्टापछि नियन्त्रणमा आयो । त्यो आगलागीबाट ४६ वटा घर जलेर खरानी भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपाने बताउँछन् । उनका अनुसार आगलागीमा धनमालसहित १७ वटा चौपाया पनि जलेर मरेका थिए ।
गत वैशाख १२ गते दिउँसो १२ बजेतिर महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवागाछी टोलका मोहम्मद वामिल शेषको घरबाट सल्केको आगोले एक सय घर खरानी भयो । तातो हावा चल्दा र घरभित्र रहेको खाना पकाउने ग्यास सिलिण्डर विस्फोटले विपन्न बस्ती आगोको चपेटामा पर्दा १० वटा वारुणयन्त्र र ३ सय बढी सुरक्षाकर्मी र स्थानीयलाई आगलागी नियन्त्रणमा लिन ६ घण्टा लागेको थियो ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार ९२ वटा घर पूर्णरुपमा जलेर नष्ट भयो भने अन्य दर्जन बढी घरमा क्षति भयो । महोत्तरीमा आगलागी हुनु २ दिनअघि मात्र वैशाख १० गते धनुषाको हंसपुर नगरपालिका–१ भगवानपट्टीमा परालको टौवामा लागेको आगोले एक महिलाको जलेर मृत्यु भयो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार दिउँसो ३ बजे परालको टौवामा लागेको आगो नियन्त्रणमा लिने क्रममा ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।
२ साता भित्रै सर्लाही, सप्तरी, महोत्तरी र धनुषाका यी आगलागी घटनाहरु उदाहरण मात्र हुन् । प्रहरी राखेको तथ्यांकअनुसार २ साता यता मधेशका ८ जिल्लामा दिनदिनै आगलागी भइरहेका छन्, रोकिएका छैनन् । २ साता यता २ सय ५० भन्दा बढी घरगोठ जलेर करोडौंको धनमाल खरानी भएको प्रहरीले जनाएको छ । दश महिनामै १२६६ आगलागी घटना भएका छन् । १९ जनाको मृत्यु भएको छ ।

