२०८३ मङ्सिर १० गते बुधवार | 2026 November 25th Wednesday

ओली पक्राउ गर्न प्रहरी मुभ हुनसक्छ, जाहेरी व्यूतिएकै अवस्थामा रहेको खुल्यो

काठमाडौं । २०८२ भदौ २३ र २४ गतेको भ्रष्टाचारविरोधी जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा ७७ जनाको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए। उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको लापरबाही (मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार हेलचक्र्याइँ गरी ज्यान मार्न नहुने कसुर) रहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो। २०८२ चैत १३ गते बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेलगत्तै मन्त्रिपरिषद्ले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्‍यो। सोही आधारमा पीडित परिवारको जाहेरी र प्रतिवेदनअनुसार २०८२ चैत १४ गते प्रहरीले ओलीलाई भक्तपुरको गुन्डुस्थित निवासबाट प`क्राउ गरेको थियो।

स्वास्थ्य अवस्थाका कारण हि`रासत अवधिभर त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई १३ दिनपछि २०८२ चैत २६ मा सर्वोच्च अदालतको आदेश र सरकारी वकिलको कार्यालयको सहमतिमा अनुसन्धानका बेला उपस्थित हुने सर्तमा परिवार (पत्नी राधिका शाक्य) को जिम्मा लगाएर रिहा गरिएको थियो। रिहाइपछि र हालैका कार्यक्रमहरूमा अध्यक्ष ओलीले सरकारसँग कुनै ठोस प्रमाण र आधार नहुँदासमेत पूर्वाग्रह र प्रतिशोध साँधेर आफूलाई १३ दिन गैरकानुनी हि`रासतमा राखेको आरोप लगाउँदै आएका छन् । ६० वर्षदेखि देश र लोकतन्त्रका लागि लडेको, जेलनेल भोगेको र पटक–पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई बिनाकारण थुन्नु` जङ्गलीराज र राक्षसीराज भएको उनको तर्क छ। नेकपा (एमाले) ले पनि यो कदमलाई राजनीतिक प्रतिशोध र अलोकतान्त्रिक भनेको छ।

स्मरणीय कुरा यो छ कि यस प्रकरणमा ओलीले दाबी गरे जस्तो मुद्दामा प्रमाण नपुगेर रिहाइ गरिएको हैन । मुद्दा चलाउने वा नचलाउने निर्णय प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले गर्छ। मुद्दा नचलाउने निर्णय भएमा उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालयबाट सदर हुनुपर्छ। महान्यायाधिवक्ता कार्यालय भनेको नै महान्यायाधिवक्ताले गर्ने निर्णय हो । महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने भएकाले जुन सरकार आउँछ नयाँ फेरिन्छन् । हाल बालेन शाहले नियुक्त गरेका महान्यायाधिवक्ता छन् ।

महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार हुन् । यसैले यो मुद्दा अझै सरकारको हातमा पर्ख र हेर को अवस्थामा छ । अनुसन्धानमा संलग्न एक सरकारी वकिलका अनुसार अझै अनुसन्धान जारी रहेको र ओलीले भनेझैँ प्रमाण नपुगेर रिहा भएको दाबीमा सत्यता छैन । सरकारी वकिल कार्यालयले ओली र लेखकलाई छाडिए पनि मुद्दाको अनुसन्धान नरोक्न प्रहरीलाई चार वटा कार्यादेश दिएको थियो। तर प्रहरीले अटेर गरेको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्की हुँदा सरकारको आदेश नमानेकै कारण उनलाई बर्खास्त गरेर डा. मनोज कुमार कार्कीलाई सरकारले आईजीपी बनाइसकेको छ । आज सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई हेडक्वाटर फर्काउने स्पष्ट आदेश नदिएपछि अब प्रहरी मुभ हुन सक्छ । यसअघि नै ओलीले आफूलाई प`क्राउ गर्ने सर्तमा नै डा. मनोजलाई आईजीपी बनाएकाले आफूलाई सरकारले जतिबेलापनि दुख दिनसक्ने बताइसकेका छन् ।

 

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस