२०८३ मङ्सिर ७ गते आइतवार | 2026 November 22nd Sunday

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउने आँट र स्पष्टता देखिनुपर्छ : पूर्वमन्त्री भगवती चौधरी

इटहरी। पूर्वमन्त्री भगबती चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई केवल औपचारिक कूटनीतिक भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय स्वाधीनता, आर्थिक हित र वर्षौंदेखि थाती रहेका द्विपक्षीय समस्याको समाधान खोज्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएकी छन्।

प्रधानमन्त्री शाहले संसद्मा प्राप्त गरेको दुई तिहाइ बहुमत जनताको ठूलो विश्वास र अपेक्षाको परिणाम भएको उल्लेख गर्दै चौधरीले उक्त जनमतलाई राष्ट्रिय हितका पक्षमा परिणाममुखी बनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

नेपाल र भारतबीच ऐतिहासिक तथा घनिष्ठ सम्बन्ध रहे पनि सम्बन्धका नाममा नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयलाई ओझेलमा पार्न नहुने उनको स्पष्ट धारणा छ। निकट छिमेकीसँग समस्या हुनु स्वाभाविक भए पनि ती समस्या समाधानका लागि कूटनीतिक पहल र दृढ इच्छाशक्ति आवश्यक पर्ने उनले बताएकी छन्।

उनले विशेषगरी नेपालको बढ्दो व्यापार घाटालाई गम्भीर आर्थिक चुनौतीका रूपमा औँल्याउँदै प्रधानमन्त्रीले भारतसँग व्यापार असन्तुलन न्यूनीकरण, नेपाली उत्पादनको बजार पहुँच र आर्थिक सहकार्यका विषयमा ठोस प्रस्ताव राख्न सक्नुपर्ने अपेक्षा गरेकी छन्।

त्यस्तै, सीमा विवाद, ईपीजी प्रतिवेदनलगायत वर्षौंदेखि थाती रहेका विषयमा प्रधानमन्त्रीले कस्तो अडान राख्नुहुन्छ भन्ने प्रश्न पनि महत्वपूर्ण रहेको उनको भनाइ छ।

‘राष्ट्रिय स्वाधीनता, राष्ट्रियता र आर्थिक समृद्धिसँग जोडिएका मुद्दा बोझ होइनन्, यी त राष्ट्रिय हितका अनिवार्य सवाल हुन्’ भन्ने धारणा राख्दै चौधरीले विगतका समस्या उठाउँदा सम्बन्ध बिग्रन्छ भन्ने मनोविज्ञानबाट सरकार मुक्त हुनुपर्ने संकेत गरेकी छन्।

प्रधानमन्त्रीले नेपाल भारत सम्बन्धमा अतितको बोझ नबोक्ने भन्नुहुन्छ । तर म भन्छु देश र आम नेपाली जनताको स्वाधीनता, राष्ट्रता र आर्थिक समृद्धिका लागि यस्ता कुरा बोझ होईन यस्ता आवश्यक मुद्दा उठाउनु पर्दछ । राष्ट्रिय महत्वका अन्तर्राष्ट्रिय विषयमा सबै राजनीतिक दललाई विश्वासमा लिएर साझा राष्ट्रिय धारणा निर्माण गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले भारत भ्रमणअघि त्यसतर्फ पर्याप्त पहल नगरेको उनको टिप्पणी छ। पूर्वमन्त्री भगबती चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण हुनै लाग्दा फेसबुक मार्फत यस्तो बताएकी हुन।

चौधरीको प्रश्न छ— दुई तिहाइ बहुमतको सरकारसँग राष्ट्रिय हितका मुद्दा उठाउने राजनीतिक शक्ति र जनसमर्थन दुवै हुँदा पनि प्रतिपक्षी दलसहित सबै राजनीतिक शक्तिलाई विश्वासमा लिएर साझा परराष्ट्र नीति निर्माण गर्न किन सकिएन ?

यद्यपि, सरकारप्रति आलोचनात्मक दृष्टिकोण राख्दैमा राष्ट्रिय महत्वको भ्रमणमा असहयोग गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् भन्ने कामना गरेकी छन्।

उनको सन्देश स्पष्ट छ— छिमेकीसँग मित्रता आवश्यक छ, तर मित्रताको नाममा राष्ट्रिय स्वार्थमा सम्झौता हुनु हुँदैन। सम्बन्ध सुधारसँगै नेपालको राष्ट्रिय हित स्थापित गर्न सक्नु नै प्रधानमन्त्रीको भारत भ्रमणको वास्तविक सफलता हुनेछ।

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस