२०८३ मङ्सिर १० गते बुधवार | 2026 November 25th Wednesday

जग्गा भेटिएपछि सुकुम्बासी भन्दै होल्डिङ सेन्टरमा बसेका परिवारहरुलाई खाली गर्न अल्टिमेटम

काठमाडौं । जग्गा फेला परेको भन्दै सरकारले सुकुम्बासीहरूलाई आगामी शनिबारसम्म होल्डिङ सेन्टर छोड्न अल्टिमेटम दिएको छ । भूमि समाधान समितिको पत्र अनुसार भन्दै भक्तपुर जिल्ला प्रशासनले जग्गा भेटिएका सात परिवारलाई भक्तपुरस्थित बोडेको होल्डिङ सेन्टर आगामी शनिबार दिउसो २ बजेसम्ममा खाली गर्न निर्देशन दिएको हो । होल्डिङ सेन्टरमै सूचना टाँसेर जग्गा भेटिएका सात परिवारलाई छोड्न भनिएको छ ।
यस्तो छ सीडीओ कार्यालय भक्तपुरको पत्रको विवरण
भूमि समस्या समाधान समिति, काठमाडौको च.नं. ५४८ मिति २०८३–८–९ को प्राप्त पत्र अनुसार काठमाण्डौ उपत्यका नदी किनारका जोखिमयुक्त बस्तीमा रहेका परिवारहरू विस्थापित भई कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा रहेका तपसिलमा उल्लेख भएका घरमूली वा निजका परिवारका सदस्यहरूको नाममा भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा स्थानीय पालिकाबाट प्राप्त विवरण अनुसार जग्गा रहेको देखिएकोले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार भूमिहीन नठहरिने भएका ७ (सात) परिवार र जग्गा नदेखिएका १२ (बाह) परिवारको हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनको लागि कारवाही अगाडि बढी निस्सा समेत प्राप्त भएको हुँदा सोको निस्सा लिनु भई यस होल्डिङ सेन्टरमा रहेका उपरोक्तानुसार भूमिहीन नठहरिने भएका र जग्गा देखिएका सम्पूर्ण व्यक्तिहरुलाई यही मिति २०८३/०८/११ गते १४ः०० बजे भित्र होल्डिङ सेन्टर खाली गर्नु हुन सूचित गरिन्छ। जग्गा नदेखिएका परिवारहरूको हकमा नेपाल सरकारले घरभाडा स्वरूप तोकिदिएको सुविधा समेत बुझिलिनु हुन अनुरोध छ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस