काठमाडौं, पुस ५ । छक्कबहादुर लामा नेपाली राजनीतिमा पूरानो नाम हो । लामा हालको माओवादी र त्यतिबेलाको जनमोर्चा नेपालका तर्फबाट २०४८ सालमा सांसद थिए । माओवादीका ९ सांसदमध्ये लामा एक हुन् । माओवादीले २०५२ फागुनमा जनयुद्ध सुरु गरेपछि लामा जनयुद्धमा लागेनन् । आफ्नै एनजिओमा काम गरेर बसे । राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका बेला लामा राजाको मन्त्री भए । पछि माओवादीमै फर्किए । पार्टी पोलिट्ब्युरो सदस्यसमेत रहेका उनले माओवादीका आधिकारिक उम्मेदवारलाई हराउँदै स्वतन्त्र बाट हुम्लामा सांसद तिजे । बागी उम्मेदवारी दिएको आरोपमा माओवादीले उनलाई कारबाही गरेको छ । कांग्रेसका मंगलबहादुर शाहीलाई जम्मा ४७ मतको अन्तरमा हराएर लामा सांसद निर्वाचित भए । उनको जित र भावी योजनाबारे गरेको कुराकानीको सम्पादित अंशः–

पार्टीले कारबाही गर्दा पनि चुनाव कसरी चुनाव जित्नुभयो ?

पार्टीले मलाई चिन्न नसक्दा गलत व्यक्तिलाई उम्मेदवार बनायो । जनता, कार्यकर्ता सबैले अर्को उम्मेदवारलाई मन पराएनन् । सबैले मलाई बागी दिनुपर्छ भनेपछि बागी दिएको हुँ । जनता, कार्यकर्ताको साथ र सहयोग पाएरै चुनाव जितें । पार्टीले मलाई टिकट नदिनु गल्ती थियो । अहिले म सुन्दैछु नेताहरुलाई गल्ती महसुस भएको छ रे ।

पार्टीले त कारबाही गरेको छ, कसरी गल्ती महसुस गरेको भन्न मिल्छ ?

जनताले मन पराएको मान्छेलाई कारबाही गर्नु पार्टीको गल्ती हो । पार्टी पनि के भन्नु ? एउटा गुटका नेताले मात्रै हो मलाई पेलेको । दिनुपर्ने मान्छेलाई टिकट नदिएर नदिनुपर्नेलाई दिइयो । त्यसैले बाध्य भएर मैले उम्मेदवारी दिएँ । प्रचण्ड, कृष्णबहादुर महरा सबै मेरा पुराना मित्र ह्न् । उहाँहरुले त मलाई राम्रैसँग चिन्नुभएकै छ । पार्टी कार्यएकर्ता, बाम गठबन्धका कार्यकर्ता र आमजनताको मतले विजयी भएँ ।

जसरी पनि टिकट पाउनैपर्ने तपाईंको खास योग्यता के हो र ?

०३२ सालदेखि निरन्तर राजनीतिमा छु । मैले नेपालको हिमाली क्षेत्रको इतिहासको गहिरो सामाजिक अध्ययन गरेको छु । सो क्षेत्रको विकासका लागि के गर्नुपर्छ भन्ने राम्रो जानकारी मलाई छ । अध्ययन मात्र होइन, काम गरेर पनि देखाएको छु । हुम्लामा हिल्सा–सिमिकोट सडक निर्माणमा मेरो नेतृत्वदायी भूमिका छ । १२० किलोमिटर सडक आफैंले श्रोत जुटाएर निर्माण गरें । सिमिकोटको व्यक्तिगत जग्गा १ करोडको बेचेर सडक निर्माणमा खर्च गरेको कुरा सिंगो हुम्लेली जनतालाई थाहा छ । हुल्लामा मात्रै होइन, कर्णाली अञ्चलमै खाद्य समस्या समाधानका लागि काम गरेको छु । जडिबुटीको मूल्य निर्धारण गर्ने, व्यवस्थित संकलन गर्ने र त्यसमार्फत जनताको विकास र रोजगारीको काम गर्दै आएको छु । पर्यटन विकासमा पनि धेरै काम थरेको छु । सिमिकोटमा विदेशी ल्याउने काम मैले नै गरेको हो । साँझ ६ बजेसम्म जहाज ल्याण्ड हुन सक्ने गरी विमानस्थल बनाएको छु । एनजिओमा धेरैलाई जागिर दिएको छु । आमजनतामा मेरो लोकप्रियता छ । हुम्ली जनताले मलाई केही गर्न सक्ने हैसियतको मानिस हो भनर चिनेका छन् । गरिब परिवारमा जन्मिएको हुँ । अहिलेसम्म १ पैसा राज्यको पैसा खाएको छैन । यो बाहेक सांसद बन्न के हैसियत चाहिन्छ ?

पार्टीले कारबाही गरेको मानिसलाई कसरी नेता कार्यकर्ताले नै सहयोग गरे ?

ममाथि अन्याय गर्ने पार्टी त होइन नि । त्यो एउटा सानो गुट थियो । टिकट नपाएपछि गाह्रै पारेको थियो । कारबाही गरेको हुनाले आउन मुस्किल होला कि भन्ने लागेको थियो । तर, जनता र कार्यकर्ताले चाहेपछि कसैले केही लागेन ।

चुनाव जितेपछि कारबाही फिर्ताका लागि पहल गर्नुभएको छ ?

मेरो विचारमा कारबाही फिर्ता हुन्छ होला । अध्यक्ष प्रचण्ड भेट्न भनेर काठमाण्डु आएको छु । भेट्न समय पाएको छैन । भेटेर कुरा गर्छु ।

तपार्ईंले पार्टीका आधिकारित उम्मेदवार जसकोविरुद्ध उम्मेदवारी दिनुभयो उहाँ (छिमी लामा) त तपाईंको आफ्नै ज्वाईं रे होइन ?

ज्वाईं हो भन्ने सुनेको हुँ । मैले छोरी दिएर ज्वाईं बनाएको हो र ? मेरो घरमा एक दिन पनि छोरीेले ज्वाईं भनेर ल्याएको थिएन । मेरो छोरी माओवादी जनयुद्धमा सहिद भएको हो । जनयुद्धकालमै मन पराएर बिहे गरेका रहेछन् । मुगुमा आर्मीले मारिदियो । छोरीको हत्या भएपछि छिमी मेरो ज्वाईं भएको थाहा पाएँ । तर, उहाँले मलाई कहिल्यै ससुराको जस्तो व्यवहार गर्नुभन । जहिल्यै मेरो विरुद्ध षड्यन्त्र गर्ने उहाँको काम भयो । त्यसैले मलाई ज्वाईं जस्तै लाग्दैन । ०७० को चुनावमा मलाई विपक्षीको पैसा खाएर चुनाव हराउने काममा उहाँ लाग्नुभयो । यसपटक काठमाण्डु गएर जबर्जस्ती टिकट ल्याएर मलाई देखाउन खोज्नुभयो । मलाई हराउन काँग्रेससँग गठबन्धन गर्नुभयो ।

चुनाव जितेपछि ज्वाईंसँग कुरा भएको छैन ?

भोजमा बोलाएँ । योभन्दा पहिला जे–जस्तो भयो अब बिर्सौं भनेको छु । जिल्लाको विकासको काममा मिलेर काम गरौं भन्ने मेरो प्रस्ताव छ ।

चुनावअघि चाहिं ज्वाई–ससुराको सल्लाह भएन ?

म पार्टीको काममा उत्तरी भेगमा थिएँ । जिल्ला कमिटीले कसलाई उठाउने भनेर छलफल गरिरकेका बेला उहाँ काठमाण्डु गएर टिकट ल्याउनुभएछ । बाम गठबन्धन भयो अब त सजिलै जितिन्छ भन्ने भ्रममा उहाँ पर्नुभएछ ।

०४८ सालमा तत्कालिन जनमोर्चा (हालको माओवादी) बाट सांसद निर्वाचित भएको मान्छे, कसरी राजाको मन्त्री बन्नुभयो ?

म गरिब परिवारमा जन्मिएँ । जीवनमा धेरै संघर्ष गरेको छु । जनयुद्धमा मेरो छोरी गुमाएँ । हो म राजाको मन्त्री भएँ । तर अरुले जस्तो बिन्ती जाहेर गरेर मन्त्री बनको होइन म । राजा मलाई चाहिएको होइन, म राजाका लागि चाहिएको हो । राजा ज्ञानेन्द्र सिमिकोट आएका बेलामा भेट भयो । मैले हिमाली क्षेत्रबारे एउटा पुस्तक लेखेको थिएँ । आर्मीका कर्णेल र सिडिओले मेरो पुस्तक राजालाई उपहारका रुपमा दिनुपर्छ भने । उनीहरुको कुरा मानेर मैले पुस्तक उपहार दिएँ । किताब पढेपछि राजामा मप्रति सकारात्मक विचार पलाएछ । जनजातिको छोरा हो । अध्ययनशलि मानिस रहेछन् भनेर राजाले मन्त्री बनाएका हुन् । राजासँग जम्मा तीनपटक भेट भयो । त्यतिबेला माओवादीलाई मिलाउनुपर्छ भनेको थिएँ । अरु राजासँग माओवादीको कुरा गर्न डराउँथे । मैले सिधै भनें– माओवादी पनि नेपाली दाजुभाई/दिदीबहिनी हुन् । उनीहरुलाई मारेर समस्याको समाधान हुँदैन । वार्तामा बसेर समस्या समाधान गर्नुपर्छ । राजाले कहिल्यै मेरो कुरालाई मलाई जहिले पनि विद्वानका रुपमा लिए ।

अब माओवादीमा बस्ने कि नबस्ने ?

किन नबस्ने ? कारबाही फिर्ता भयो भने म आजै पार्टीमा आउन तयार छु । मेरो पनि यो पार्टीमा धेरै लगानी छ । राजाको मन्त्री बन्नुभन्दा पहिला माओवादीको आरोपमा हुम्लामा नजरबन्दमा बसेको मानिस हुँ । जहिले पनि मलाई जिल्लामा मात्र होइन, बाजुरा र मुगुसम्म पनि माओवादी नै भनेर चिन्थे मानिसहरु । जनयुद्धको बेलामा सिमिकोटमा बसेर वैचारिक रुपमा माओवादीको सपोर्ट गर्ने अरु कोही थियो ? मैले दुःख गरेको कुरा पार्टीका धेरै नेतालाई थाहा भएन होला । प्रचण्ड र महरासँग ०४८ सालको संसदकालमा सहकार्य भएको हो । त्यसपछि मैले जनतामा के काम गरें र के कति अध्ययन गरें थाहा पाउन सक्नुभएन । खाली राजाको मन्त्री खायो भनेर हेर्नुभयो जस्तो लाग्छ । मैले जनतासँग न्याय मागें । जनताले न्याय दिए । एजेण्डा मन परेर माओवादीमा आएको हुँ । जनयुद्धमा छोरी गुमाएको मानिसलाई माओवादीका नेताहरुले पनि अपमान त नगर्लान् । नेताहरुले बुझ्नुपर्छ यो कुरा । क्रान्तिमा यति धेरै मानिस मरेका छन् । माओवादीले सामन्तवादलाई अन्त्य गरेको छ । तर, परिवर्तनलाई विकासमा बदल्ने काम बाँकी छ । त्यसका लागि हामीजस्ता मान्छेले काम गर्नुपर्छ । यदि मलाई पार्टीले चिनेन भने स्वतन्त्र भएर बस्छु । तपाईं जस्तो मान्छे चाहिन्छ भन्ने हो भने कार्यकर्ता भएर काम गर्छु । पार्टीभन्दा बाहिर जान्न । म प्रतिक्रियावादी होइन । क्रान्तिकारी नै हुँ । रुपान्तरणका लागि बाहिर बसेर काम गर्न सक्छु

पहिला राजाको मन्त्री बन्नुभयो, अब गणतन्त्रमा पनि मन्त्री बन्ने रहर छ कि ?

राजनीति गर्ने कसलाई मन्त्री, प्रधानमन्त्री बन्ने रहर हुँदैन र ? माओवादीले मेरो क्षमता चिनेर मन्त्री बनाए रामै हुन्छ । हिमाली क्षेत्र, जनजाति इतिहास र तिब्बतसँगको सम्बन्धबारे राम्रो दख्खल छ । पहाड र हिमाली क्षेत्रको इतिहास र संस्कृतिबारे अध्ययन गर्ने धेरै छन् । तर, हिमाली क्षेत्रको गहिरो अध्ययन गर्ने मजत्तिको कोही छैन नेपालमा । म मन्त्री भएँ भने नेपाल–चीन सम्बन्धका लागि काम गर्न सक्छु । -काठमाडाैटुडेबाट

सम्बन्धित खबरहरु