काठमाडौ । “चुडामणी शर्मा स्याङ्जामा जन्मेका हुन् । अहिले काठमाडौको नारायणथानमा रहेको शर्माको निवास प्रवेश गर्न जो कोहीलाई सम्भव छैन । उनको निवाससम्म पुग्न ५–६ वटा गेट पार गर्नुपर्छ । घरमा निजी सुरक्षा गार्ड राखेका छन् ।
शर्माको घर करीव २५ रोपनी जग्गामा फैलिएको छ । सो घरमा शर्माले पत्नीलाई तरकारी किन्न जानका लागि ५० लाखको गाडी किनिदिएका छन् । पछिल्लो समयमा शर्माले बूढानीलकण्ठमा देउवा निवास नजिकै रहेको पञ्चकन्या कोलोनीमा १२ करोडमा नयाँ घर निर्माण गरेका छन् ।
जुन घर उनकी सालीका नाममा रहेको स्रोत बताउँछ ।” उनलाई भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरेर अनुशन्धान जारी राखिएको छ । राजस्व विभागका महानिर्देशक हुँदा नै चुडामणि शर्मा पक्राउ परेका थिए । उनी पक्राउ परेसँगै दीपेन्द्र क्षेत्री कार्कीले लेखेको फेसबुक स्ट्याटस हो यो । कार्की जस्तै धेरै नेपालीमा शर्माप्रति आक्रोश देखियो । सरकारी सेवाको नाममा जनताको अर्बौ रुपैयाँ भ्रष्टाचार गरेर उनले अकुत सम्पत्ति कमाएर देश कंगाल बनाएको भन्दै उनको अहिले चर्को आलोचना हुने गर्छ ।
त्यसमा पनि स्याङ्जा जिल्लामा जन्मिएर सरकारी सेवाको मुकुण्डो लगाएर देश लुटेको भन्दै धेरै स्याङ्जालीले उनी स्याङ्जाको भन्दा पनि लज्जाबोध भएको बताएका छन् । कुनैबेला स्याङजामा जन्मिएर लोकसेवा गुरुको नाममा हजारौलाई सरकारी सेवामा प्रवेश गर्न सहयोग गरेका, लोकसेवाका पुस्तक लेखेर धेरैलाई सरकारी सेवामा प्रवेश गर्न सघाएका र देशकै उच्च पद र जिम्मेवारीमा पुगेर स्याङ्जाको नाम उजिल्याएका भनिएका शर्माको छवि अहिले स्याङ्जालीहरुबीच धूमिल भएको छ ।
यस्तो छ शर्मालाई आरोप
कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्राउ गर्यो । आर्थिक अनियमितता र भ्रष्टाचार गरेको आरोपमा आयोगको टोलीले शर्मालाई कार्यालयबाट नै पक्राउ गरेको थियो । शर्मालाई सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागबाट राजस्व विभागमा सुरुवा गरिएको थियो ।
यसअघि महानिर्देशक शर्मा सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्याँस काण्डमा पनि मुछिएका थिए । सुगमको फुटरिङ काण्डमा सञ्चालक शिव प्रसाद घिमिरेलाई उन्मुक्ति दिएको आरोप उनलाई लागेको थियो । उनी विरुद्ध कर फस्र्योट आयोगमार्फत विभिन्न व्यापारीलाई कर छुट दिएको भन्दै आयोगमा दर्जनौ उजुरी परेको थियो ।
को हुन् चुडामणि शर्मा ?
चुडामणि शर्मालाई धेरैजसो लोक सेवाका गुरुको उपनामले पनि चिन्छन । लोक सेवा आयोगको परिक्षामा एकैपटक सात ठाउँबाट नाम निकालेर सुरुवातमै चर्चाको शिखरमा पुगेका शर्माका नाम नभएको लोक सेवा प्रतियोगिताका पुस्तक सायद कमै छन् ।
हुनपनि हो शर्माको नाम मात्रै राखेन भने किताब नै बिक्दैन । आन्तरिक राजश्व विभागका महानिर्देशक बनेका शर्माले लोक सेवा र राष्ट्रसेवक सरकारी कर्मचारीको बरियतामा कहिलै पछि फर्केर हुर्नु परेन । सुरुमा जुन परिक्षा दियो, नाम निस्किहाल्थ्यो त्यो पनि टप सूचीमा नै नाम अटाउन सफल हुन्थे । लोक सेवा आयोग अन्तर्गतका प्रतियोगिताका विद्यार्थीमा प्रख्याति कमाएका शर्माले दश दर्जन भन्दा बढी पुस्तक छपाई सकेका छन् ।
जति व्यस्त समय भएपनि चलेका अधिकांश इन्ष्टिच्युटमा लोक सेवा तयारी कक्षामा पढाउन पनि उनले भ्याएका छन् । विस २०२६ सालमा स्याङ्जाको फापरथुम, बरप्प्लिेमा जन्मिएका शर्माले २०४३ सालमा एसएलसी उत्तीर्ण गरेपछि पृथ्वीनारायण क्याम्पस पोखरा पढ्दै गर्दा मात्र लोक सेवाको बारेमा सुनेका थिए ।
आईकम दोस्रो बर्ष पढ्दै गर्दा सह–लेखापालको परिक्षा दिएका शर्माले १४ सय परिक्षार्थीलाई उछिन्दै २०४५ सालमा सह–लेखापाल पदबाट आफ्नो सरकारी सेवाको जीवन सुरुवात गरे । बीचमा उनले सह–लेखापालबाट राजिनामा दिएर फेरी लोकसेवाकै तयारी गरे ।

२०५० सालमा दिएको शाखा अधिकृतको नतिजा २०५१ सालमा आयो । ४९ जना शाखा अधिकृत माग भएकोमा शर्माको नाम चौथो नम्बरमा निस्कियो । त्यसपछि कास्की, ओखलढुंगा लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरे। २०५८ सालमा भएको भएको उप–सचिवको प्रतियोगितामा पनि सफल शर्माले अर्थ मन्त्रालय हुँदै राजश्वको उप–सचिव लगायतका निकायमा काम गरे।
२०६४ सालको सह–सचिवको प्रतियोगितामा पहिलो नम्बरमानै उनको नाम निस्कियो । सह–सचिव भएपछि सामान्य प्रशासन मन्त्रालय, अर्थ, महालेखा नियन्त्रणको कार्यालय, गृह मन्त्रालयका साथै सुनसरी ललितपुर र काठमाडौको प्रमुख जिल्ला अधिकारीको रुपमा सेवा गरिसकेका छन् ।
गृह मन्त्रालयकै सह–सचिव हुँदै सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक र पछिल्लो पटक जागिर खुस्किँदा आन्तरिक राजश्व विभागमा महानिर्देशक पदमा रहेका थिए ।

