२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

एमालेमाथि आक्रमण भइराखेको छ : अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीलाई प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताउनुभयो। उहाँले कोशी प्रदेशमा अपराधिक घटना भइरहेको दाबी गर्नुभयो। उहाँले पहिचानवादीका नाममा सत्तापक्षले मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले प्रतिवादमा उत्रिने बताउनुभयो। अध्यक्ष ओलीले पहिचानका नाममा भइरहेका क्रियाकलापको सामना गर्न एमाले नडराउने बताउनुभयो। अध्यक्ष ओलीले नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्र भए पनि त्यो सफल नहुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ। सरकार केही गर्दैन। प्रहरीलाई टाउको फुटे पनि केही नगर्नु भनेको छ। पहिचानका नाममा एउटै मानिस हरेक ठाउँमा बाइक लिएर पुग्ने गरेका छन्। कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा अपराधिक घटना भइरहेका छन्। कहिले बन्द भनेको छ, कहिले तोडफोड, कहिले अनेक छ। आजमात्रै केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो। पहिचानका नाममा कहाँसम्मको हत्या प्रयास भइरहेको छ। यसमा हाम्रो पार्टी किञ्चित, डराउँदैन, झुक्दैन ‘नो कम्प्रोमाइज’। नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ।’’

अध्यक्ष ओलीले प्रदेशका नाममा भइरहेका अन्दोलनलाई एमाले हेरेर नबस्ने बताउनुभएको छ। उहाँले सरकारका कामप्रतिसमेत आशंका व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले भन्नुभयो, ‘‘सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ।’’ अध्यक्ष ओलीले सरकार कोशी प्रदेशको नाम आफैँ सहमति गरेर अहिले देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको आरोप लगाउनुभयो।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस