२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कम्युनिष्ट सरकार ढालेर ओलीले दलाल कांग्रेससँग मिलेर सरकार बनाउँदै छन् : माधव नेपाल

Madhav Kumar Nepal

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ। कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’

उहाँले ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ।’

उहाँले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रुपमा उदाएको दाबीसमेत गर्नुभयो । उहाँले एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरुले गरेको कदमलाई पनि सहन नसकेको बताउनुभयो ।

‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ। हामीले चालिरहेको कदमलाई सकारात्मक रुपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकतावद्ध बनाएर समाजवाद विरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, बिस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौँ, तपाईहरुले गर्नुभयो भन्नुपर्ने हो। ठूलो पार्टीले गर्नुपर्ने हो तर चाहेन, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहेन।’

अध्यक्ष नेपालले नेपाली काँग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको आरोप लगाउनुभयो ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस