२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

चीनमा पुनः ४ महिना उपचार गरेर फर्किए वर्षमान पुन, सक्रिय राजनीतिमा लागिरहने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा पुनः ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किनुभएको छ ।

नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किनुभएको हो । उहाँ पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभयो ।

उहाँको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी विमानस्थलमा पुग्नुभएको थियो ।

विमानस्थलमा पुनले आफू सबैको माया र सद्भावले स्वास्थ्यलाभ गरी फर्कन पाएकामा खुशी व्यक्त गर्नुभयो । उता बस्दा पनि नेपालको राजनीति र समग्र अवस्थाबारे निरन्तर चासो राख्ने गरेको उहाँले सुनाउनुभयो । ‘सक्रिय राजनीतिमा छु, स्वास्थ्यलाभपछि अझै सक्रिय रहने सोच बनाएको छु,’ पुनले भन्नुभयो, ‘बाँकी कुराहरु केही दिनमा राख्ने छु ।’

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन जानुभएको थियो । उहाँको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

उहाँको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् । यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो । उहाँले यसअघिपनि चीनमा पटक पटक यो रोगको उपचार गराउनुभएको छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस