२०८३ जेष्ठ २० गते बुधवार | 2026 June 3rd Wednesday

कांग्रेसमा आन्तरिक विवाद चर्कियो: पूर्णबहादुर खड्कालाई ७ दिनको स्पष्टीकरण आदेश

प्रकाश काफ्ले/काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार सम्पन्न बैठकले खड्काले कार्यवाहक सभापतिको भूमिकामा रहँदै पार्टीका आधिकारिक निर्णयहरू विपरीत बारम्बार वक्तव्य सार्वजनिक गरेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो। खड्काले केही समयअघि क्रियाशील सदस्यता खारेज गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेका थिए। समितिका अनुसार यसअघि पनि उनले पार्टीको आधिकारिक धारणा विपरीत अभिव्यक्ति दिँदै आएको भन्दै उनलाई सचेत गराइएको थियो। अनुशासन समितिले उल्लेख गरेअनुसार, उनले १४ चैतमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति विरोध जनाउँदै समेत वक्तव्य दिएका थिए।

यसबाहेक, १७ चैतमा खड्काले कार्यवाहक सभापतिको हैसियत दाबी गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरी दुई दिनसम्म छलफल सञ्चालन गरेका थिए। उक्त कदमलाई पनि अनुशासन समितिले कारबाहीको दायराभित्र राखेको जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया दिनुहोस