प्रकाश काफ्ले/काठमाडौं । पशुपतिनाथ मन्दिरमा केही समय अगाडि एक फरक र सन्देशमूलक घटना घट्यो। सुवास बस्ताकोटी र अनुपा रेग्मी दम्पतीले आफ्ना दुई छोरी—१४ वर्षीया समु र १० वर्षीया परुको व्रतबन्ध गरिदिए। परम्परागत रूपमा छोराले मात्र गर्ने मानिएको व्रतबन्ध संस्कार छोरीका लागि सम्पन्न गरिएपछि यसले समाजमा व्यापक बहस सिर्जना गरेको छ।अभिभावकका अनुसार, छोरा र छोरीबीच ‘एक्स’ र ‘वाई’ क्रोमोजोमबाहेक अन्य कुनै मौलिक भिन्नता नहुने वैज्ञानिक तथ्यलाई आधार मानेर यो निर्णय लिइएको हो। उनीहरूले सन्तानलाई समान रूपमा हेर्नुपर्ने सन्देश दिन चाहेको बताएका छन्।

आमा अनुपा रेग्मी भन्छिन्, “हाम्रा दुई छोरी हुन्। परिवारभन्दा पनि समाजबाट ‘छोरा हुनुपर्छ’ भन्ने दबाब थियो। अंश खाने कोही भएन, किरिया गर्ने छोरा चाहिन्छ भन्ने कुरा उठ्थ्यो।” उनका अनुसार, गाउँ गोरखा जाँदा समेत आफन्तहरूले ‘किरिया गर्ने हामी हो, पैसा सापटी देऊ’ भन्ने दबाब दिने गर्थे। “अब व्रतबन्ध गरेपछि छोरीहरूले अंश खान्छन् र किरिया पनि आफैं गर्छन्,” उनले स्पष्ट पारिन्।

उनले छोरी जन्माएकै कारण आफूहरूले समाजबाट हेपिनु परेको अनुभव पनि सुनाइन्। “छोरा र छोरीबीचको भिन्नता भनेको क्रोमोजोम मात्रै हो। बच्चा बन्ने प्रक्रिया उस्तै हो, क्षमतामा कुनै फरक हुँदैन। त्यसो भए छोरी पाएकै कारणले किन हेप्ने?” उनले प्रश्न गरिन्। उनले थपिन्, “हामीले धेरै कुरा सहँदै आएका छौं। अब त्यो सोच बदल्नुपर्छ।”

अनुपाका अनुसार, उनका छोरीहरूले परम्परागत ‘गुन्युचोली’ संस्कार स्वीकार नगरेका छन्। “गुन्युचोलीमा मन्त्र पनि हुँदैन र कुनै वैज्ञानिक आधार पनि देखिएन भनेर उनीहरूले मानेनन्,” उनले भनिन्।

धार्मिक र सांस्कृतिक सन्दर्भमा पनि छोरीहरूको व्रतबन्ध पूर्ण रूपमा निषेध गरिएको स्पष्ट प्रमाण नभएको बताइन्छ। भारतको हरिद्वार लगायत स्थानमा छोरीहरूले जनै लगाउने अभ्यास देखिन्छ भने केही धार्मिक समूहहरूले पनि यसमा रोक नलगाएको उल्लेख गरिन्छ। हिन्दू धर्मग्रन्थहरूमा छोरीहरूले वेद अध्ययन गर्ने र जनै धारण गर्ने सन्दर्भहरू भेटिने भए पनि व्यवहारमा भने यो परम्परा छोरामै सीमित भएको पाइन्छ।

व्रतबन्ध संस्कारलाई मूलतः अनुशासनमा बस्ने, अध्ययन सुरु गर्ने र जीवनमा जिम्मेवारी बोध गर्ने प्रक्रियाको रूपमा बुझिन्छ। यस्तो अभ्यास छोरीहरूले पनि अपनाउनु आवश्यक रहेको अभिभावकहरूको धारणा छ।

यस घटनाले ‘अंश खाने छोरा’ भन्ने पुरानो सोचलाई चुनौती दिँदै “सन्तान बराबर हुन्छन्” भन्ने सशक्त सन्देश दिएको छ। समाजका धेरैजसो वर्गले यस कदमलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले परम्परागत मान्यतामाथि प्रश्न उठाएको भन्दै आलोचना समेत गरेका छन्।

यद्यपि, पशुपतिनाथमा भएको यो व्रतबन्धले नेपाली समाजमा लैङ्गिक समानताको बहसलाई थप बल दिएको छ र पुराना मान्यतामाथि पुनर्विचार गर्न प्रेरित गरेको छ।