२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

शुल्क तिर्न नसक्दा परीक्षा बन्देज लगाएपछि जनताले तिरिदिएका रामजीले डाक्टर लाइसेन्स पास गरे

काठमाडौं । रामजी रामले मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पास भएको जानकारी दिँदै सबै सहयोगीलाई धन्यवाद दिएका छन् । ‘आज मेडिकल काउन्सिलको लाइसेन्स परिक्षा पास भए ।

रूटिन अफ नेपाल बन्द लगायत विभिन्न व्यक्तिहरुको अनुरोधमा परिक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्यन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरु, दृश्य अदृश्य रुपमा मलाई सिकाउनुहुने हाम्रा सम्पुर्ण गुरुहरु, बिरामीहरु, सम्पुर्णलाइ यो प्रमाणपत्र चढाउछु,’ उनले रिजल्टको तस्वीरसहित लेखेका छन् ।

रामजी राम उनै हुन् जो २०७७ सालमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पैसा तिर्न नसकेको भन्दै परीक्षा दिनबाट रोकेको थियो । उनलाई कलेजले शुल्क नतिरेको भन्दै परीक्षा हलमा छिरेको एक मिनेटमै बाहिर निकालिदिएको थियो। घटना बाहिरिएपछि कलेजको चौतर्फी आलोचना भएको थियो ।

इन्सिच्युट अफ मेडिसिन (आइओएम) ले समेत कडा निर्देशन दिएपछि अन्तत कलेजले उनीहरूलाई परीक्षामा सामेल गराएको थियो । साथै उनलाई देश विदेशबाट सहयोगसमेत जुटेको थियो । आज तिनै रामजी दुस्ख संघर्ष गर्दै अन्तत डाक्टर बनेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस