२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

प्रदेश समितिलाई उपेक्षा गरे पार्टी सङ्गठन कमजोर बन्छ : सभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ । बुधबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्नुहुँदै उहाँले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताउनुभएको हो ।

पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधै जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यक्रमहरुमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गर्नुभयो । प्रदेशलाई कम महत्त्व दिए पार्टी सङ्गठन कमजोर हुने उहाँको भनाइ छ । उहाँले जिल्ला समितिहरु प्रदेशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

‘‘प्रदेशलाई धेरै कार्यक्रममा, सबै ठाउँमा धेरै उपेक्षाभाव राखिएको छ । प्रदेश यही पार्टीको एउटा महत्त्वपूर्ण अङ्ग हो । केन्द्रीय पार्टी सभापति प्रदेशको सभापतिको दोस्रो महत्त्वपूर्ण दायित्व हुन्छ । त्यो महत्त्वपूर्ण दायित्व भएको अङ्गलाई बलियो बनाउने, त्यसलाई संस्कारित बनाउने र संस्थागत बनाएर लिएर जाने काममा केन्द्रको ठूलो भूमिका रहन्छ । ठूलो सहयोग चाहिन्छ ।,’’ गण्डकी प्रदेशका सभापति शर्माले भन्नुभयो, ‘‘त्यसमा सिधैँ जिल्लासँग सम्पर्क गर्ने, सिधै गाउँपालिकाहरुसँग, नगरपालिकाहरुसँग सम्पर्क गर्ने, प्रदेशलाई बाहिर राख्ने काम धेरै पटक भएको छ । यसले गर्दा पार्टीको प्रदेशको महत्त्व घट्दै जाने र जिल्लाहरुले पनि प्रदेशप्रति उत्तरदायी कम वहन गर्ने र संगठन कमजोर बन्ने काम भएको छ । त्यसकारण म आग्रह गर्न चाहन्छु, संस्थागत रुपबाट पार्टी चलाउँदा, जिल्लाहरु सञ्चालन गर्न प्रदेशलाई नै जिम्मेवार बनाएर सञ्चालन गर्ने व्यवस्था होस् ।’’

उहाँले प्रदेश सभापतिहरुलाई केन्द्रीय समिति बैठकमा विधानसम्मत ढङ्गले उपस्थित गराउन माग गर्नुभयो । सभापति शर्माले कांग्रेसभित्र र बाहिर कांग्रेसको विकल्प खोज्न थाल्नु देशका लागि दुर्भाग्य भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस