२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सुनलगायत भ्रष्टाचार काण्ड छानबिन गर्न कांग्रेसभित्र पनि उच्चस्तरीय समिति गठनको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सुन काण्डलगायत भ्रष्टाचार प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेर जानुपर्ने पक्षमा उभिन पार्टी नेतृत्वलाई दबाब दिएका छन्। प्रमुख प्रतिपक्षले उठाउँदै आएको मागलाई सहयोग गरेर सरकारलाई छानबिन गर्न उच्चस्तरीय समिति गठनका लागि दवाव दिन उनीहरुले पार्टी नेतृत्वलाई सुझाएका छन् ।

मुख्यगरी संस्थापनइतर समूहका सांसदले सुन प्रकरणसहित चर्चित भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय संसदीय दलबाट गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। आइतबारको संसदीय दल बैठकमा बोल्दै सांसद शेखर कोइरालाले सुन प्रकरणलगायत छानबिन गर्न उच्चस्तरीय समिति गठनको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले राजश्व अनुसन्धान र सिआइबीले यो प्रकरण टुंगो लगाउन गाह्रो देखिएको तर्क गर्नुभयो ।

‘राजश्व अनुसन्धानका महानिर्देशक एक साताअघि प्रधानमन्त्रीजीको सचिवालयमा हुनुहुन्थ्यो। महानिर्देशक भएपछि सुन बरामद त भयो तर त्यसपछिका घटनाहरू पनि हेरौं,’ कोइरालाले भन्नुभयो, ‘सिआइबीलाई छानबिन गर्न किन दिनुपर्‍यो, राजश्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भनेर महानिर्देशक भन्नुहुन्थ्यो। त्यसैले पनि सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ।’

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ। यसबारे कोइरालाले थप बोल्नुभयो, ‘एमालेले किन उच्चस्तरीय छानबिन समिति माग गरेको हो ? त्यतातर्फ पनि हामीले सोच्नुपर्छ।’ संसदीय दल बैठक आज सकिदैछ । आज नै कांग्रेसले यो विषयमा निर्णय लिँदैछ ।

 

 

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस