२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको पेसी आज

sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइका लागि आज पेसी तोकिएको छ । नाबालिग बलात्कारको मुद्दाको पेसीको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो । गत भदौ १० गते लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याइने’ भन्दै सारिए पछि आजका लागि पेसी तोकिएको हो।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन । पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएर टुंगिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइए पछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो । सोही आदेश अनुसार आएको प्रमाणका आधारमा आजको पेशीमा छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस