काठमाडौं, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि सेनामा हलचल ल्याउनेगरी हात हालेका छन् । नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको सेवा अवधि थप गरेपछि पूर्व जर्नेलहरूविरुद्धमा उत्रिएका छन् । सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई नियमविपरीत प्रधानमन्त्री प्रचण्डको जोडबलमा दोस्रोपटक तीन वर्षका लागि सेवा अवधि थप गर्ने निर्णय गरिएको थियो। उस्तै परे प्रचण्डले उनलाई प्रधानसेनापति बनाएर सेना समेत आफ्नो नियन्त्रणमा लिने रणनीति अनुसार अहिले सहायक रथी पदमा समय थप गरिएको जानकारहरुको बुझाई छ ।
सचेत नागरिक, वीरगति प्राप्त सैनिक परिवार र पूर्वसैनिकहरूले विज्ञप्ति जारी गर्दै यस्तो गलत अभ्यासले नेपाली सेनामा गलत अभ्यास बस्ने र सेनामा कार्यरत सकल दर्जाको मनोबल खस्किने जनाएको छ। राजनीतिक दवावमा रथी अधिकारीलाई तीन वर्ष समयअवधि थप गरिएकोमा नेपाली सेना माओवादीकरण भएको हो भन्दै जटिल प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा नियमविपरीत गलत अभ्यासले नेपाली सेनाको गौरवमा आँच आएको जनाउँदै नेपाली नागरिक, वीरगतिप्राप्त सैनिक परिवार तथा अवकाशप्राप्त सैनिक परिवारको समेत अवमूल्यन भएको जनाइएको छ। नेपाली सेनाले राजनीति नगरी नेपालवाद मात्र बुझ्ने संस्था भएकाले निर्णय तत्काल फिर्ता लिन तथा यस्ता खालका कार्य नगर्नसमेत विज्ञप्तिमा सचेत गराइएको छ। माओवादीसहितको तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई सहायक रथीको विशेष पद सिर्जना गरेर बढुवा गरेको थियो।
चार वर्षका लागि गरिएको बढुवा कात्तिक १ गते सकिने अवस्थामा माओवादीका पूर्व सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला उनको पद थप तीन वर्षका लागि थप्ने निर्णय भएको छ । सरकारको यस निर्णयप्रति नेपाली सेनाभित्र चर्को असन्तुष्टि देखिएको थियो। सैनिक स्रोतका अनुसार प्रधानसेनापतिले अधिकारीको सेवा विस्तारबारे वरिष्ठ सैनिक अधिकारी पिएसओ समक्ष परामर्श गरेका थिएनन्।