२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

युवालाई व्यावसायिक कृषिमा नजोडे देश बन्दैन : ओली

प्यूठान । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन कृषि पहिलो खुड्किलो भएको बताएका छन् । प्यूठानमा आइतबार नौबहिनी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले रोजगारी सिर्जना र विदेशिने युवालाई देशमै रोक्न कृषिलाई व्यावसायिक बनाउनुपर्ने बताए ।

रोजगारी खोज्दै युवाहरु दिनहुँजसो विदेशिने गरेको भन्दै उनले कृषिलाई व्यवसायिक र प्रविधिसँग जोडेर ग्रामीण क्षेत्रसम्म पुर्‍याउन सके यसैबाट आर्थिक समृद्धि सम्भव रहेको बताए । देश आर्थिक मन्दीको चपेटामा परेको सुनाउँदै उनले आर्थिक समृद्धिका कार्यक्रम तिनै तहका सरकारले सुरु गर्नुपर्ने र त्यसको नेतृत्व स्थानीय तहहरुले लिनुपर्ने बताए ।

‘ग्रामीण क्षेत्रसम्मै कृषिलाई प्राथमिकता दिएर काम गरे देशमा रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘आर्थिक समृद्धिबिना देशको विकास हुनै सक्दैन ।’ युवालाई व्यावसायिक कृषिमा जोड्न सके मात्रै मुलुकको समृद्धि सम्भव हुने उनले बताए । यस्तै एमाले प्यूठानले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पालामा सुरु भएका अधिकांश कार्यक्रमलाई निरन्तरता दिन नसकेको आरोप लगाए । स्वर्गद्धारी दर्शनमा समेत पुगेका ओलीले स्वर्गद्धारीको विकास र प्रचारमा ध्यान दिनुपर्ने बताए ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस