२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

इजरायल सीमा क्षेत्रमा खटिएका नेपाली शान्ति सैनिक भिडन्तमा घाइते, त्यहाँ छन् ८७४ नेपाली सैनिक

Nepalese peacekeepers deployed in Israel border area injured in clashes

१२ कात्तिक, काठमाडौं । इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएका छन् । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर सामान्य घाइते भएका हुन् ।’

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार इजरायल र लेबनानको सीमाक्षेत्रमा दुई पक्षबीचको युद्धका क्रममा नेपाली शान्ति सैनिकको फौज बसेको बंकरमा खसेको पुष्टि भइनसकेको हतियारको छर्रा लाग्दा एकजना घाइते भएका हुन् । स्थानीय समयअनुसार शनिबार राति करिब १० बजेको समयमा उक्त घटना भएको उनको भनाइ छ ।’

‘बंकरमा खसेको सेल कुन हतियारको हो भन्ने पुष्टि भइसकेको छैन । मोर्टार सेल वा रकेटको सेल हुनसक्ने अनुमान मात्रै हो’, भण्डारीले भने, ‘घाइते एक जनाको दायाँ हात र पेटको दायाँ भागमा सामान्य चोट लागेको छ । घाइतेलाई बटालियनको मेडिकल क्याम्पमा प्राथमिक उपचार गरेर शान्ति सैनिकको उपचार गरिने नाकुरा अस्पतालमा रिफर गरिएको छ । उनको अवस्था सामान्य रहेको छ ।’

उक्त घटनामा शान्ति सैनिक बस्ने एउटा बंकर र एउटा गाडीमा सामान्य क्षति पुगेको र त्यसबाहेक सबै सुरक्षित रहेको उनले जानकारी दिए । लेबनानमा हाल ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।’

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस