२०८२ असार २६ गते बिहिवार | 2025 July 10th Thursday

पोखरा महानगरलेपनि खोला मिचेर बनेका संरचना हटाउने, निकाल्यो ३५ दिने सूचना

Pokhara metropolis will also remove the structures built by the river

११ कात्तिक, पोखरा । अतिक्रमणको चर्को चपेटामा परेको पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी–अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो ।

पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो । प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन महानगरले सूचना जारी गरेको हो ।

‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’ पोखरा महानगरले सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा साउन ३ गतेदेखि फिर्केखोलाको वास्तविक आकार खोज्न प्राविधिक खटाएको थियो । खटिएको टोलीले २ महिनापछि असोज ६ गते अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाएको थियो ।

प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको थियो । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । खोलाघरनै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनले देखाएको छ । ‘त्यसमध्ये कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

फिर्केखोला मिचेर ३५ वटा व्यक्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा समावेश छ । संस्थागत रुपमा अस्थायी संरचना खडा गरी फिर्के मिच्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, व्यर्थन महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस