२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

भूकम्पले लग्यो एलिनाको इन्जिनियर बन्ने सपना

The earthquake took Alina's dream of becoming an engineer

काठमाडौं । शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा दैलेख घर भएकी एलिना भण्डारीको पनि निधन भएको छ । उनी जाजरकोटको नापी कार्यालयमा अमिन पदमा कार्यरत थिइन्। भण्डारी दैलेखको दुल्लु नगरपालिका—६ छिउडीपुसाकोट निवासी हुन्। उनी सुर्खेतको अमरज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौं सेमेस्टरकी विद्यार्थी थिइन्।

तर, उनको इन्जिनियर बन्ने सपना अधुरै भएको छ। चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी उनी गत वर्ष भदौमा मात्र लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा अमिनमा सिफारिस भएकी थिइन्। उनले पहिलो प्रयासमै अमिनमा नाम निकालेकी थिइन्। पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारी शुक्रबार राति सदाका लागि अस्ताइन्।

२०७९ भदौमा उनी सरकारी सेवा प्रवेश गरेकी थिइन्। ‘सरकारी सेवामा प्रवेश गरेको एक वर्ष पुरा भएको थियो’ एलिनाका अंकल किरण भण्डारीले भने, ‘निकै संघर्ष गरेर अध्ययन पूरा गरेकी थिइन्, सरकारी जागिरे भएर भविष्य उज्ज्वल देखेकी एलिनाको सपना अधुरै रह्यो, अब्बल राष्ट्रसेवक भएर सेवा गर्ने उनको इच्छा अधुरो रह्यो।’ उनीसँगै उनका भाइ प्रज्वल शाहीको पनि भूकम्पमा परी ज्यान गएको छ।

एलिना र उनका भाइ नापी कार्यालयको क्वाटरमा बस्दै आएका थिए। कार्यालय नै भूकम्पले भत्काउँदा उनीसँगै उनका भाइको मृत्यु भएको हो। उनले दशैं मनाएर भाइलाई आफ्नो साथमा जाजरकोट लगेकी थिइन्। एलिना र प्रज्ज्वल एकै घरका दिदीभाइ भने होइनन्। उनीहरू फरक–फरक बाबुका तर एकै आमाका सन्तान हुन्। भाइलाई पढाउन उनले जाजरकोट ल्याएकी थिइन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस