२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

जनमुक्ति सेनाकाे जहाजले ल्यायो चीनले पठाएको २८ करोड बराबरको राहत सामग्री

२२ कार्तिक, काठमाडौं । चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारले बुझेको छ।

चीन सरकारले पठाएको १५० करोड आरएमबी अर्थात् २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन्। उक्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि पोखरा विमानस्थलमा उपस्थित थिए।

चीनले राहत सामग्रीमा उच्च गुणस्तरका ४६ सय गोटा कम्बल र कार्यालय नै चलाउन सकिने ६ सय ठूला टेन्ट पनि सहयोगस्वरुप प्रदान गरेको हो।

चीनले हस्तान्तरण गरेका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले शुक्रबार रातिको भूकम्प प्रभावित रुकुम र जाजरकोट क्षेत्रमा पुर्‍याउने भएको छ।

जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज बुधबार सबेरै बिहान पोखरा विमानस्थलमा आइपुगेका थिए।

चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ। यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेका थिए।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस