२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

राहत कुर्दै भूकम्प पीडित, पानी परेपछि थपियो चिन्ता

Earthquake victims waiting for relief jajarkot

जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ ।

भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए । बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन । स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखा परेको बताए । उनले भने, “गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन ।”

बारेकोट चिसो ठाउँ हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताए । उनका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ । नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन । नगरपालिकाको वडा नं १ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नं ८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन् । नलगाड वडा नं ८ बारेकोट गाउँपालिकाको वडा नं ८ सँग जोडिएको पालिका हो भने वडा नं ९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो ।
नलगाड वडा नं ८ पालिकामा सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्र हो । त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताए । प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उनको भनाइ छ ।

भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ । बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन् ।

आज बिहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ । अधिकांश घरबाट छाएको ढुंगा झरेका छन् । भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ । कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताइन् ।

सदरमुकाम खलंगामा कोठा भाडामा लिएर बस्नेले राहत पाएका छैनन् । राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका–४ घर भई सदरमुकाममा बस्दै आएका मालबहादुर सिंहले गुनासो गरे । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकामा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको बताए । रासस

 

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस