२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

बन्द भयो रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा, राज्यकोषको कारोडौं रकम नोक्सान

काठमाडौं । दशैंपछि रोकिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउने भएको छ। सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। तर तीन करोड खर्च गरेर बनाइएको रातो लेन भने अहिले मेटिइसकेको छ ।

यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ। दशैंदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।

द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ। असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ।

एक महिनामा द्रुत बस सञ्चालन गर्दा यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात ब्यवसायीले त्यसको अनुभव लिएका छन्। सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरु हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेका छन्। द्रुत बसको लेनमा रातो पोतिएको चाँडै मेटिएकाले अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुने महानिर्देशक रिजालले बताए । सङ्घीय राजधानी काठमाडौँको जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने उद्देश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस