२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

प्रचण्ड पुत्रीमाथि अमरेशले लगाएको अनियमितताको आरोप छानबिन गर्न अनेरास्ववियुको माग, नत्र आन्दोलन

Akhil's demand to investigate the allegations of irregularities made by Amresh against Prachanda's daughter

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहाललाई जोडेर लगाएको आरोप छानबिन गर्न माग गरेको छ । कार्यवाहक अध्यक्ष गोविन्द गिरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग रकम बुझेको र त्यो सबै अडिओ तथा भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको र समय आएपछिसबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्तिले प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाई प्रति गम्भिर घ्यानाकर्षण भएको छ ।

देशको प्रधानमन्त्रीप्रति लक्षित यस्ता अभिव्यक्तिले पारिवारिक सम्बन्धलाई प्रयोग गरेर स्वयम् प्रधानमन्त्री, मन्त्री र सचिवालयामा नियुक्ति लिएका सदस्यहरु जनताको सेवामा होइन कमाउ धन्दामा रहेको र भ्रष्टाचार, अनियमिततामा संलग्न रहेको प्रष्ट हुने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘बालुवाटार र सिंहरबारमा बसेर यस्ता गतिविधिमा संलग्न जो कोही भए पनि छानबिनको दायरामा ल्याई दोषीउपर कानूनबमोजिम कडा भन्दा कडा कारबाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियु जोडदार माग गर्दछ ।’

यस सम्बन्धमा शक्तिको आडमा छानबिन तथा अनुसन्धान प्रकृया अगाडि नबढाए र यस्ता गतिविधिउपर मुकदर्शक बनिरहे अनेरास्ववियुले भ्रष्टाचार, अनियमितता र कमिसनतन्त्रको भण्डाफोर गर्दै सरकारविरुद्ध कडा आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनी दिइएको छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस