२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सङ्कल्प यात्रामा अवरोध नगर्न पहिचानवादीलाई एमालेको अपिल [ भिडियोसहित ]

UML's appeal to identityists not to obstruct Sankalp Yatra

काठमाडौं । नेकपा (एमाले) ले मध्य पहाडी पुष्पलाल लोक मागमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ आजबाट कोशी प्रदेश प्रवेश गर्दै छ । एमालेको उक्त अभियानलाई पहिचानवादीहरूले कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले भने यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेता गौतमले एमाले अभियानलाई लक्षित गर्दै प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गरिएको भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गरेका हुन् ।

नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्याउन गौतमको आग्रह छ । असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण रूपमा गुनासा राख्न सकिन्छ । कोशी प्रदेशको नामको सवालमा कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्छ’, गौतमले भनेका छन्, ‘काशी प्रदेश नामकरणमा एमालेसहित नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएका हुन् ।

तर एमालेलाई मात्रै निशाना बनाइने गरेको छ यो लोकतान्त्रिक हुन सक्दैन । एमालेको मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रा आजबाट उदयपुरको घुर्मी, ओखलढुगाको हर्कपुर हुँदै खोटाङ प्रवेश गर्दै छ । यी क्षेत्रबाट कोशी प्रदेश सुरु हुन्छ । यहाँ प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्टि जनाउनेहरुको केही संख्या छ । उनीहरुले उक्त निर्णय गर्दा प्रदेश सभामा रहेका दलहरुप्रति विरोध जनाउँदै आएका छन् ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस