२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आज राष्ट्रिय झण्डा दिवस: चिवाभञ्ज्याङमा भारततर्फ फर्काएर एमालेले फहरायो राष्ट्रिय झण्ड

पाँचथर । आज छैटौँ राष्ट्रिय झण्डा दिवस, नेपालको राष्ट्रिय झण्डा फहराउने दिन । संयोग नै मान्नु पर्छ नेकपा (एमाल) ले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आज अन्तिम दिन । एमालेले मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरेको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएको छ ।

देशभरि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय झण्डा दिवस मनाइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराउन व्यस्त छन् । चिवा भञ्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ठूलो राष्ट्रिय झण्डा फहराए । यात्राको क्रममा चिवाभञ्ज्याङ पुगेका अभियानका सदस्यहरूले भारतसँगको नेपाली सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा बोकेर देशप्रेम झल्काए, फोटो खिचाए ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन भएको छ ।

०७५ पुस १ गतेदेखि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै छ ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस