काठमाडौं । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जानेगरी शुक्रबार भएको घटनालाई निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले केही सुरक्षा अधिकारीलाई निलम्बन गरेको जानकारी दिएको छ । आज (शनिबार) गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवार र कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गरेको जानकारी दिएको हो । उता, गृह मन्त्रालयले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णयसमेत गरेको छ । शुक्रबार आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।


