२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

जापानमा भयानक भूकम्प सुनामी चेतावनी, समुद्रमा ४ फिट अग्लो लहर

Terrible earthquake and tsunami warning in Japan

काठमाडौं । जापानमा सोमबार भूकम्पको कडा झट्का महुसस गरिएको छ। जापानी टेलिभिजन एनएचकेका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो। शक्तिशाली भूकम्पपछि सरकारले समुद्री क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ।

यसैबीच वाजिमा सहरबाट सुनामीको समाचार आएको छ। यहाँ करिब ४ फिट अग्लो समुद्री लहर उठेको छ। जापानको समयअनुसार यहाँ अग्लो समुद्री लहर ४ बजेर २१ मिनेटमा देखिएको हो। अहिलेसम्म सुनामीले क्षति गरेको खबर आएको छैन। तर केही स्थानमा एक मिटरभन्दा अग्लो समुद्री लहर देखिएको छ। स्थानीय प्रशासनले ५ मिटर (१६ फिट) अग्लो समुद्री लहर आउन सक्ने चेतावनी दिएको छ। समुद्री किनार क्षेत्रका मानिसलाई अहिले सुरक्षित स्थानमा सारिँदैछ।

अहिलेसम्म कसैले ज्यान गुमाएको खबर आएको छैन। उता रूसले तटीय शहर भ्लादिभोस्तोक र सखालिन द्वीपमा चेतावनी जारी गरेको छ। यो द्वीप जापानको उत्तरी क्षेत्रमा अवस्थित छ। भूकम्पपछि सुनामीको खतरालाई ख्याल गर्दै विभिन्न देशका दूतावासहरूले आपत्कालीन नम्बर सार्वजनिक गरेका छन्। जापानको ‘सुनामी वार्निङ सिस्टम’ का अनुसार यदि भूकम्पपछि सुनामीको चेतावनी जारी हुन्छ भने त्यसपछि समुद्रमा एक मिटरसम्म अग्लो लहर देखिन्छ। यसलाई सुनामीका रुपमा चित्रित गरिन्छ। यसको उचाई केही समयपछि ३ मिटर अग्लोसम्म हुन्छ। यदि ५ मिटरसम्मको लहर उठेमा यसलाई मुख्य सुनामी समूहमा राखिन्छ।

८ मिनेटमै अर्को भूकम्प
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प इशिकावा प्रान्तको अनामिजु सहर आएको थियो। यसको पृथ्वीको सतहबाट १० किलोमिटर तल थियो। नेपाली समयअनुसार मध्यान्ह १२ बजेर ५५ मिनेटमा भूकम्पको झट्का महसुस भएको हो। त्यसको ८ मिनेटपछि ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो। त्यसपछि फेरि ५.२ म्याग्निच्युडको धक्का महसुस भएको छ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस