२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गणतन्त्रवादीहरू एक छौँ, हामी राजतन्त्र फर्काउन दिँदैनौँ : ओली

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् ।

मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौँमा नेपाली काँग्रेसले गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको बताएका छन् ।

‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्‍यो। तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो ।’

कहिलेकाहीँ आफूहरू (देउवा, दाहालसमेत) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरोध हुने गरेको प्रसंग निकाल्दै अध्यक्ष ओलीले राजतन्त्र फर्किन नदिन आफूहरू सबै एक ठाउँमा रहेको बताए । ‘यो त निश्चित छ कि हामी राजतन्त्र फर्काउन दिँदैनौँ, यो त खुलस्त कुरा हो, हामी भेट भए पनि, नभए पनि यो त प्रस्टै छ,’ ओलीले भने, ‘राजतन्त्र अब इतिहास हो, बितिसकेको कुरा हो । यसबारे छलफल गर्नुको कुनै औचित्य छैन । उनले देशमा सुशासन, शान्ति, विकास र राष्ट्रियताको पक्षमा सबै दलहरूबीच मेलमिलाप हुनुपर्ने बताए ।’

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस