२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कही नभएको जात्रा हुने हाँडीगाउँको गहना पोखरी

Jewel Pond of Handigaon

काठमाडौं । किराँतकालिन बस्ती (अण्डीपृङ्ग) अर्थात हाँडीगाउँको दक्षिण–पश्चिममा रहेको यो पोखरी सो समयदेखी नै महत्वपूर्ण रहेको देखिन्छ । त्यो समय किराँत बस्तिमा पानीको आपूर्ति हुने गरेको यस पोखरी किराँत शहरको स्वाभाविक प्रचलन अनुरुप बस्तीको सिमा भन्दा बाहिर राखिएको पनि देख्न सकिन्छ ।

प्राकृतिक र कृत्रीम दुबै प्रणालीको प्रयोग गरेर बाँसबारी देखि पानी ल्याइएको यसै पोखरी मार्फत शहरका बिभिन्न इनार लगायत सत्यनारायण मन्दिरमा रहेको ढुङ्गेधारामा पानी लगिएको कुरा सन् १९९९ मा पोखरी मर्मतको क्रममा देखिएको थियो । हाँडीगाउँमा रहेका ढुङ्गेधाराहरुको जलभण्डारको रुपमा लिच्छवी राजा मानदेवका पिता राजा धर्मदेवले यसै पोखरीलाई प्रयोग गर्न लगाएको अनुमान गर्न सकिन्छ । नेपाल भाषामा न्याल्मपुखु भनेर चिनिने यस पोखरीमा टुँडालदेवी जात्राको गतिबिधी अन्तर्गत गहना खोज्ने प्रसङ्ग जोडिएको हुनाले पोखरीलाई गहना खोज्ने पोखरी वा गहना पोखरी भनेर पनि चिनिन्छ ।

हरेक वर्ष वैशाख ४ गते काठमाडौँको हाडीगाउँस्थित यो गहना पोखरीमा तिसा मालेगु जात्रा (गहना खोज्ने जात्रा) मा अजिमा (टुँडालदेवी माई)को जात्रा गरिन्छ । यो दिन गुठीयार तथा स्थानीयको अत्याधिक घुईचो हुन्छ ।

 

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस