२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

एकै दिन दुई पटक फेल भएका पुरीलाई तेस्रो पटकसम्म लाइसेन्सको ट्रायलमा छिराएपछि…!

driving license from nepal

काठमाडौं । तीन प्रवेश पत्र सहित ट्रायल दिन आएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुरको राधे राधे स्थित ‘ईजी वे ट्रायल सेन्टर’ बाट दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा तीन ओटा प्रवेश पत्र सहित सोमबार इलामको चुलाचुली–४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

पुरीले पहिलो पटक परीक्षामा अनुत्तीर्ण भई पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुनः परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा पुरीलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय भक्तपुरको संयुक्त टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो। पुरीलाई आवश्यक अनुसन्धानका लागी प्रहरी वृत्त ठिमीमा पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस