२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ बुँदे मागसहित ध्यानाकर्षण पत्र

KP Oli Prachanda

काठमाडौं । नेकपा (एमाल) ले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त भएका जनताका माग र समस्या सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नागरिकले राखेका माग समेटेर ज्ञापन पत्र बुझाए । पार्टी अध्यक्ष ओलीले नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

मध्यपहाडको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग प्रधानमन्त्रीलाई बुझाएको एमाले अध्यक्ष ओलीले जानकारी दिए ।

‘जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्’, ज्ञापन–पत्र बुझाएपछि सामाजिक सञ्जाल फेसबुकमा एमाले अध्यक्ष ओलीले लेखेका छन्,
नागरिकबाट आएका मागलाई सरकारको नीति तथा कार्यक्रम समावेश गरी कार्यान्वयन गर्न माग गरेको छु । ‘मैले प्रधानमन्त्रीलाई यी माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु, प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गर्नु भएको छ, यी माग पूरा गर्न निरन्तर फलोअप गर्न हामीले पूर्व अर्थमन्त्री तथा हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएका छौँ’, ओलीले लेखेका छन् ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस