२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

एमालेको ध्यानाकर्षणमा प्रधानमन्त्रीको प्रतिबद्धता ‘‘नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ’’

काठमाडौँ, माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन् । मङ्गलबार बिहान नेकपा (एमाले) का पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म झुला घाटदेखि चिवा भन्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षण पत्र प्रस्तुत गरेको हो।

उक्त ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्दै बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए । उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षण पत्र मध्य पहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

ध्यानाकर्षण पत्र बुझाउँदै पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्य पहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षण पत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरे । प्रतिनिधिमण्डलमा अध्यक्ष ओलीसहित पदाधिकारी र अन्य नेताहरू उपस्थित थिए ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस